बुटवल ।
प्रदेश नं– ५ का प्रमुख उमाकान्त झाले कानून निर्माण हुन नसकेको कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक १२८ स्लाइसको सिटी स्क्यान उपकरणको आज उद्घाटन समारोहमा उहाँले प्रदेश सरकारमार्फत विकास निर्माणका काम तल्लो तहसम्म पुग्न नसकेको बताउनुभयो ।
प्रदेश प्रमुख झाले प्रदेश सरकारलाई ‘फङसनल’ बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिँदै सरकारको एकल प्रयासबाट मात्रै सबै काम सम्भव नहुने विचार राख्नुभयो । अस्पतालका अध्यक्ष एजाज आलमले गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पताल अग्रसर भएको उल्लेख गर्दै अस्पतालको नयाँ उपकरणका लागि रोटरी क्लबसँग मिलेर पुनः नयाँ परियोजना ल्याउन लागेको जानकारी दिनुभयो ।
अस्पतालका निर्देशक तथा मुटु रोग विशेषज्ञ डा समिर गौतमले अत्याधुनिक सिटी स्क्यान उपकरणले जन्मजात मुटुको रोग सम्बन्धी समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गर्दै एक्सरे भन्ने विकिरण प्रविधि नै सिटी स्क्यान उपकरण भएको बताउनुभयो ।
सो कार्यक्रममा प्रदेश नं ५ का प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने, विष्णु पन्थी, नेकपा रुपन्देहीका सचिव निर्मल जिसी, बुटवल उप– महानगरपालिकाका प्रमुख शिव सुवेदी, तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, पत्रकार महासङ्घ रुपन्देहीका कार्यबाहक अध्यक्ष दिनेश पाण्डे, नेपाली काङ्ग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डेले सिटी स्क्यान उपकरण बुटवल आएकोमा खुशी व्यक्त गर्नुभयो । (रासस)
प्रतिक्रिया