किरणमान ब्रजाचार्य, तौलिहवा ।
कपिलवस्तुमा मधेसी समुदायका महिलाहरुले पतिको लामो आयुको कामना गर्दे करवा चौथ हर्षौल्लासका साथ मनाएका छन् । यस अवसरमा शनिवार दिनभरी उनीहरु निर्जल तथा निराहार ब्रतबसी भगवान संग आफ्नो श्रीमानको लामो आयु तथा सुख संमृद्धिको कामना गरेका हुन् । कार्तिक कृष्णपक्ष चतुर्थीका दिन यो पर्व हरेक बर्ष तराईका महिलाहरुले धुमधम संग रमाइृलो गरी मनाउने गर्दछन् ।
यो पर्वमा महिलाहरु राति चन्द्रमा नउदाउन्जेल सम्म ब्रत बस्ने गर्दछन् । राति चन्द्रमाको बिशेष पूजाअर्चना गरी चाल्नोले आफ्नो श्रीमानको मुख हेर्ने चलन रहेको कपिलवस्तु नगरपालिका – ३ धनौराकोटकी रेनु श्रीवास्तवले बताईन । उनले बिवाहीत महिलाहरुले पतिको लामो आयुको र संमृद्धीको कामना गरी यो पर्व मनाउने चलन रही आएको छ ।
प्रदेश नम्बर ५ की प्रदेश सदस्य सुष्मा यादवले यो पर्वमा आफु पनि निर्जल ब्रतबसी पतीको लामो आयुको कामना गरेको बताईन । छर छिमेक र घर परिवार मिलेर यो पर्व मनाएको उनले बताईन । चन्द्रमाको पूजा पछि श्रीमानलाई आफ्नै हातले पानी खुवाएर महिलाहरुले ब्रत तोड्ने गर्दछन् ।
यस दिन ब्रत बस्ने महिला र उसको पतिको भगवानले रक्षा गर्ने बिश्वास रही आएको छ । यस अवसरमा घरमा नयाँ उत्पादन भएको धानु कुटीएको चामलको पीठोका बिभिन्न परिकार, मिठाई लगायतका परिकारहरु बनाई खाने चलन रही आएको छ । पूजाको प्रसाद छर छिमेक तथा ईष्टमित्रलाई बाडेने समेत गरिन्छ । यो पर्व भारतमा निकै रमाईलो गरी मनाईने गरीन्छ ।
प्रतिक्रिया