१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कामकाज गर्दै स्थानीय तहका कर्मचारीको आन्दोलन जारी



मायादेवी अनलाइन, कपिलवस्तु ।
स्थानीय तहका कर्मचारीको आन्दोलन जारी छ । सरकारले कर्मचारी समायोजन आजदेखि शुरु गरेको छ ।आन्दोलनमा कर्मचारी उत्रिए पनि सरकारले उनीहरुको माग सुनेको छैन । सरकारले आफुहरुको माग नसुनेको भन्दै आन्दोलन जारी राख्ने आन्दोलित कर्मचारीको भनाई छ । आन्दोलन गर्न लागेको एक साता वितिसक्यो तर सरकारले काम सम्बोधन गर्ने कुनै सुरसार गरेको छैन । तर आन्दोलित कर्मचारीहरु आजदेखि काममा फर्किसकेका छन् । वाणगंगा नगरपालिका लगाएतका स्थानीय तहका कर्मचारी पनि आज देखि नियमित काममा फर्किएका हुन ।
वाणगंगा कर्मचारी इकाई समितिका अध्यक्ष इन्द्रमणी गैरेले आफुहरुको आन्दोलन जारी रहेको भन्दै सरकारले न्यायोचित माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । आफुहरु जनताको काम गर्दै आन्दोलनलाई जारी राख्ने गैरले बताउनुभयो । आफना माग र पक्षका बारेमा प्रचार प्रसार गर्दै दैनिक कालो पट्टी बाँधेर आन्दोलनरत कर्मचारीले आफनो सेवा प्रदान गर्ने बताएका छन् ।
राज्यले लामो समय देखि स्थानीय तहमा कार्यरत कर्मचारीलाई विभेद गरेको भन्दै यसको लागि आन्दोलन गरेको उहाले बताउनुभयो । उहाका अनुसार कर्मचारी समायोजनमा निजामती कर्मचारी र स्थानीय तहका कर्मचारी बीच विभेद भएको छ ।
स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकहरुको उचित व्यवस्थापन गर्न माग गर्दै आन्दोलित भएका हुन् ।
कर्मचारी समायोजन अध्यादेश प्रमाणीकरण गरेपछि मंसिर २३ गतदेखि कर्मचारीहरु आन्दोलित छन । कर्मचारी समायोजन अध्यादेश आफू अनुकल नआएपछि देशभरकै स्थानीय तह ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन ।
स्थानीय निकायका कर्मचारीको तहगत बढुवा तथा श्रेणीविहीनको स्तरवृद्धि गरिनुपर्ने, कर्मचारी समायोजन अध्यादेशमा स्थानीय तहमा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार गर्न साविकका स्थानीय निकायकाका कर्मचारीको समकक्षता निर्धारण गरी समायोजन गरिनुपर्ने, अस्थायी करार, ज्यालादारी, सामाजिक परिचालको सेवा निरन्तता गर्नुपर्ने लगायतका माग उनीहरुको रहेको छ ।
कपिलवस्तुको वाणगंगा नगरपालिका, बुद्धभूमि नगरपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, कपिलवस्तु नगरपालिका, महाराजगञ्ज नगरपालिका र चार ओटै गाउँपालिकाका कर्मचारीले काम गर्दै आन्दोलन जारी राखेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७५ बुधबार ००:००  २ : ०९ बजे