५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पिस हिमालय रिसोर्टको सांसद दोय कमाल र पन्थीद्धारा उद्घाटन



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुमा अहिले सम्मकै सुविधा सम्पन्न रिसोर्टको उद्घाटन भएको छ । जिल्लाको वाणगंगा १ ठाकुरापुरमा पिस हिमालय रिसोर्टको शनिबार एक समारोहका बीच उद्घाटन भएको हो । रिसोर्टको प्रतिनिधिसभा सदस्य अतहर कमाल र प्रदेश सांसद विष्णु पन्थीले सयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै सांसद कमाल र पन्थीले कपिलवस्तु विकासको गतिमा अगाडी बढेको भन्दै रिसोर्ट सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रमुख अतिथि कमालले जिल्लामा अहिले सम्मकै सुिवधा सम्पन्न रिसोर्ट सञ्चालनले समग्र जिल्लाको गरिमा बढेको बताउनुभयो । एक जना युवाले सञ्चालन गरेको यो रिसोर्टले जिल्लाको आन्तरिक र बाह्य पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै सबैले साथ दिनुपर्ने बताउनुभयो ।
प्रदेश सांसद पन्थीले विगतमा सुविधा सम्पन्न होटल र रिसोर्ट नहुँदा बाहिरबाट आउने पाहुनाहरुलाई समेत असजिलो भएको हुँदा पिस हिमालय रिर्सोटले त्यो आवश्यक्ता परिपूर्ती गर्नेमा विश्वास व्यक्त गर्नुभयो । कुनै समय जिल्लामा आएका बाह्य पर्यटकहरुलाई घुमाएर रात कटाउने स्थान नहुदा बुटबल नै जानुपर्ने बाध्यता स्मरण गर्दै अब त्यो अवस्था नआउने बताउनुभयो ।
कार्यक्रममा वडा नं. १ कि वडा अध्यक्ष बाल कुमारी पन्त, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, संघका सल्लाहकार टोप नारायण बेल्वासे लगायतले बोल्नुभएको थियो । रिसोर्टका सञ्चालक रामु न्यौपानेका बुवा मेघनाथ न्यौपानेको अध्यक्षता, सञ्चालक रामु न्यौपानेको स्वागत मन्तव्य र रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
यता कपिलवस्तुमा झण्डै १५ करोडको लगानीमा पिस हिमालय रिसोर्ट सञ्चालनमा आएको हो । झण्डै दुई बर्ष लगाएर रिसोर्टको भौतीक संरचना निर्माण गरिएको छ । युवा व्यवसायी रामु न्यौपानेको एकल लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टको भौतीक संरचनाका लागि झण्डै ६ करोड लागेको छ भने अरु रकम जग्गामा लागेको छ । २५ कठ्ठा जग्गामा रिर्सोट सञ्चालन हुने सञ्चालक न्यौपानेले जानकारी दिनुभयो ।
रिसोर्टमा स्विमिङ पूल, चिल्डे«न पार्क, जिम हाउस, फूटसल सहितको व्यवस्था रहेको सञ्चालकको दाबी छ । यस्तै हरियाली सहितको गार्डेन, ८ सय क्षमताको बैंक स्विट हल, रेष्टुरेन्ट बार, १२ रुम क्षमताको भिआइपी गेष्ट हाउस रहेको छ । आवश्यकता अनुसार गेष्ट हाउस थप गर्दै जाने सञ्चालकको तयारी छ ।
रिसोर्ट सञ्चालनमा आए संगै झण्डै ४० जनाले प्रत्यक्ष रुपमा रोजगार पाउनेछन । हालै मात्र ३२ जना कर्मचारी भर्ना गरी काम शुरु गरिएको न्यौपाने बताउनुभयो । रिसोर्ट सञ्चालकका अनुसार चार जना कुक, चार जना हेल्फर, एक जना सेफ, ६ जना सर्भिस म्यान, एक जना म्यानेजर, तीन जना सेक्युरेटी गार्ड, एक जना रिसेप्सनिष्ट, एक जना लेखापाल, एक जना लाइफ गार्ड, एक जना गार्डेनर, दुई जना रुम गार्ड, दुई जना क्लिनर राखेर रोजगारी दिइएको छ ।
निर्माणधिन भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण पूरा भएपछि लुम्बिनी भ्रमणका लागि आउने पर्यटकलाई कपिलवस्तु भित्त्राउने उद्धेश्य जिल्लाबासीको छ । बुद्धको क्रिडास्थलको रुपमा रहेको कपिलवस्तुमा डेढ सय बढी बौद्धस्थलहरु रहेका छन । तर, भौतिक विकासमा जिल्ला पछाडी पर्दा सोचजति प्रगती हुन सकेको छैन । पर्यटन प्रवर्धनका लागि होटल, रेष्टुरेन्ट पनि एउटा इट्टा भएकोले करोडौंको लगानीमा यी यस्ता सुविधाजनक होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आउनुपर्नेमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल जोड दिनुहुन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई कपिलवस्तु जिल्लाको पर्यटकीय स्थल अवलोकनका लागि विशेष व्यवस्था गराउने रिसोर्ट सञ्चालकको लक्ष्य छ । आन्तरिक पर्यटकलाई कपिलवस्तुमा भित्त्राउने उद्धेश्यले पनि आफुले करोडौको लगानी हालेर रिसोर्ट सञ्चालक गर्न थालेको उहाँले बताउनुभयो । रिसोर्टबाट कपिलवस्तुको पर्यटकीय स्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । आकर्षण प्याकेजमा उक्त सुविधा दिने सञ्चालकको तयारी छ ।

प्रकाशित मिति : १४ पुस २०७५ शनिबार ००:००  ४ : ०६ बजे