४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

टोटनह्यामले कार्डिफ सिटीलाई हरायो



एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा उपाधिको होडमा रहेको टोटनह्यामले कार्डिफ सिटीलाई हराउँदै शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको छ ।
मंगलबार राति कार्डिफको घरेलु मैदानमा भएको खेलमा टोटनह्यामको जितमा ह्यारी केन, क्रिस्टियन इरिक्सन र सन हिउङ र मिङले एक–एक गोल गरे । एकतर्फी जस्तो बनेको खेलको तेस्रो मिनेटमा नै टोटनह्यामले केनको गोलमार्फत अग्रता बनाउन सफल भयो ।
शनिबार भएको खेलमा उल्भ्ससँग आश्चर्यजनक हार ब्यहोरेको टोटनह्यामले गएराति भएको उत्कृष्ट खेल खेल्यो ।
१२ औँ मिनेटमा क्रिस्टियन इरिक्सनले टिमलाई दुई–शून्यले अगाडि राखे । त्यसपछि २६ औँ मिनेटमा कोरियन खेलाडी मिङको उत्कृष्ट गोलमा टोटनह्यामले आधा घण्टाभित्र नै तीन–शून्यको अग्रता लिन सफल भयो । पछिल्ला सात खेलमा छैटौँ खेलमा जित निकाल्ने क्रममा टोटनह्यामले दोस्रो हाफमा पनि केही मौका पाएको थियो तर गोल थप्न सकेन ।
जितपछि टोटनह्यामको २१ खेलबाट ४८ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको ५४ अंक छ । जितपछि टोटनह्यामका प्रशिक्षक माउरिसियो पोचिटीनोले टिमले उपाधि यात्रा कायम राख्न यही फर्मलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ३ : ३९ बजे