१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रेशम चौधरीले थारु भाषामा लिए सपथ



काठमाडौं ।
चुनाव जितेको एक वर्षपछि कैलाली एकबाट प्रत्यक्ष चुनाव जितेका रेशम चौधरीले बिहीबार सांसदको सपथ लिएका छन् । ढाका टोपीमा सजिएर आएका चौधरीले थारु भाषामा सपथ लिनुभएको हो ।
सभामुख कृष्णबहादुर महराले चौधरीलाई सिंहदरबारस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा चौधरी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा थिए ।
सपथ खुवाउन उनलाई डिल्लीबजार कारागारबाट प्रहरीले सिंहदरबार ल्याएको थियो । सपथ ग्रहणमा राजपाका अध्यक्ष मण्डलका स‌ंयोजक राजेन्द्र महतो, महन्थ ठाकुरका साथै सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित हुनु भएको थियो ।

प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्ष चुनिएका चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । २०७२ साल भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा आठजनाको ज्यान जानेगरी भएको घटनामा चौधरी मुख्य योजनाकार रहेको आरोप लागेको छ ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको ज्यान गएको थियो । टीकापुर घटनाका दोषी रहेको आरोप लागेका २७ जना कैलाली कारागारमा तीन वर्षदेखि कारागारमा छन् ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  १० : ०६ बजे