४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने



काठमाडौँ, ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् ।
साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । राखेपका सदस्य सचिव केशवकुमार विष्टले परिषदको पहलमा आइसिसीले राखेपमार्फत दुई वर्ष (सन् २०१७ र २०१८)को खेलाडीले वर्गीकरणअनुसार पाउने तलब उपलब्ध गराउने सहमति भएको बताउनुभयो ।
विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावक बिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । साथै नेपाली क्रिकेटको सबै व्यवस्थापकीय पक्ष आइसिसीले नै हेर्दै आएको छ ।
तलबका विषयमा आइसिसीले राष्ट्रिय खेलकूद परिषद्को सहकार्यमा तलब दिन लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो ।
खेलाडी तथा परिषद्को आग्रहपछि आइसिसी तलब दिनका लागि राजी भएको हो । यसका लागि आइसिसीले तलब दिने खेलाडीलाई ए, बी र सी गरी तीन तहमा वर्गीकरणसमेत गरेको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  १० : १३ बजे