२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

लिभरपुललाई सिटीले हरायो, उपाधि होड बन्यो रोमाञ्चक



एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा लिभरपुल म्यानचेस्टर सिटीसँग पराजित भएपछि उपाधिको होड थप रोमाञ्चक बनेको छ । बिहीबार राति भएको खेलमा लिग लिडर लिभरपुल सिटीसँग दुई–एक गोलले पराजित भयो ।
इत्तेहाद स्टेडियममा भएको निकै रोमाञ्चक खेलको पहिलो आधा घण्टा गोलरहित बराबरी भएको थियो । तर ४० औँ मिनेटमा सिटीका सर्जियो अगुइरोले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा एक–शून्यले अगाडि रहेको सिटीविरुद्ध ६४ औँ मिनेटमा लिभरपुलका लागि रोबेर्टो फिरमिनोले गोल गर्दै खेल बराबरीमा र्पुयाए ।
तर ७२ औँ मिनेटमा सिटीले फेरि खेलमा अग्रता बनायो । यसपटक उसका लागि जर्मन खेलाडी सानेले गोल गर्न सफल भए । त्यसपछि लिभरपुलले खेलमा फर्कन दुईवटा सुन्दर मौका पाए पनि सफल भएन ।
जसका कारण उसले सिजनको पहिलो हार व्यहोर्न पुग्यो । यो हारपछि सिटीले लिभरपुलसँगको अन्तर चार अंकमा झारेको छ । लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २० पुस २०७५ शुक्रबार ००:००  ४ : ०४ बजे