२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बाल मावि बैरियाले यसरी मनायो त्रिदिवसीय खेलकुद विशेष कार्यक्रम



सूर्य चुदाली, वाणगंगा ।
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका १ बैरिया अवस्थित बाल माध्यमिक विद्यालयले एक कार्यक्रमका बीच त्रिदिवसीय खेलकुद विशेष कार्यक्रम सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा प्राथमिक तह तर्फ जोडी लखेटाई, चकलेट दौड, म्युजिकल चियर, गुच्चा दौड र १०० मिटर दौड जस्ता विभिन्न खेलहरुको आयोजना गरिएको थियो भने माध्यमिक तर्फ फुटबल, भलिबल, सटफुट, ज्यब्लिङ थ्रो, १०० मिटर दौड र मिनी म्याराथुन जस्ता खेलहरु समावेश गरिएको थियो ।


उक्त प्रतियोगितामा विद्यालयका २०० बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रमको समापन समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक अर्जुन शाहीले विद्यालयले वािर्षक कार्य तालिकामै अतिरिक्त क्रियाकलाप अन्तरगत त्रिदिवसीय खेलकुद विशेष कार्यक्रमको आयोजना गर्ने योजना अनुसार खेलहरु सम्पन्न भएको बताउनुभयो ।


उहाँले विभिन्न वालवालिकाको सर्वाङ्गीण विकासका लागि खेल अति जरुरी भएको हुनाले यस्ता कार्यक्रमले उनीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुट हुने अवसर पाउने हुँदा पढाइका साथै खेललाई विशेष प्राथमिकतामा राखी आगामी वर्ष अझ व्यवस्थित रुपमा सञ्चालन गरिने बताउनुभयो । त्यसै गरी खेल सम्पन्न गर्नका लागि विभिन्न समिति, उपसिमतिमा रही संयोजकत्व तथा निर्णायकको भूमिक निर्वाह गर्नुहुने विद्यालयका सम्पूर्ण शिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने सबै विद्यार्थीहरुलाई मेडल तथा पुरस्कारद्वारा सम्मान गरिएको थियो । उक्त खेलकुद कार्यक्रम विद्यालयका प्रधानाध्यापक अर्जुन शाहीको अध्यक्षता र अतिरिक्त क्रियाकलाप संयोजक सूर्य चुदालीको सञ्चालनमा सम्पन्न भएको छ ।

प्रकाशित मिति : २२ पुस २०७५ आइतबार ००:००  ४ : ४१ बजे