१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कृष्णनगरमा पृथ्वी नारायण शाहको योगदानको अविस्मरणीय चर्चा



सीताराम चौधरी, कपिलवस्तु ।
वरिष्ठ समाजसेवी रुद्रप्रताप शाहले नेपालको जन्मदाता नै पृथ्वीनारायण शाह भएको स्मरण गरे । नेपाल एकीकरणमा शाहको योगदान अविस्मरणीय रहेको समाजसेवी शाहले जोड दिनुभएको छ ।
२९७ औं पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा नेपाल मुक्ति मञ्च कपिलवस्तुद्वारा कृष्णनगरमा आयोजित एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथि रहेका रुद्र प्रताप शाहले पृथ्वीनारायण शाहकै योगदानले आज हामी नेपाली भनेर गर्व गर्ने ठाउँ बनेको औल्याउनुभयो । “नेपाल एकीकरण गरेर नेपाललाई एक सूत्रमा बाँध्ने काम पृथ्वीनारायण शाहले नै गर्नुभयो, हामी उहाँलाई राष्ट्रपिताको रुपमा सम्मान गर्नुपर्छ ।” – जिल्लाकै अग्रज व्यक्तित्व शाहले भन्नुभयो ।


कार्यक्रममा राप्रपा राष्ट्रबादीका केन्द्रिय महामन्त्री एवं जिविस पूर्व अध्यक्ष कृष्ण कुमार चौधरीले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै नेपाललाई हिन्दूराज्य चाहिएकोमा जोड दिनुभयो । “हामी राम्रो कामको अनुशरण गर्दैनौं, बरु नराम्रो कामलाई नक्कल गर्न अगाडि सर्छौं” –चौधरीले भन्नुभयो ।
कार्यक्रममा राजपा केन्द्रिय सदस्य रविदत्त मिश्र, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, कृष्णनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेशचन्द्र गुप्ता, कृष्णनगर नगरपालिका वडा नं. २ का वडाध्यक्ष सञ्जय गुप्ता, विनय शर्मा लगायतले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहकै देन रहेको चर्चा गर्दै शाहको योगदानलाई भुल्न नहुने बताउनुभएको थियो ।
भारत बढनी नगर पंचायतका चेयरमेन निशार अहमद तथा भारत सिद्धार्थनगर भाजपा युवा मोर्चाका पूर्व जिल्ला अध्यक्ष राजकुमार शाहीले सदियौंदेखि नेपाल र भारतबीच रोटीबेटी बीचको सम्बन्ध रहेको औल्याउनुभएको थियो । नेपालकै पितामह मानिने पृथ्वीनारायण शाहलाई विर्सनु महाभूल रहेको बताउनुभएको थियो । नेपालले पृथ्वीनारायण शाहलाई सम्मान दिनुपर्नेमा वक्ताहरुको जोड थियो ।
नेपाल मुक्तिमञ्चका जिल्ला अध्यक्ष श्याम कुमार मिश्रले पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै नेपाललाई अब फुटाउन नहुने जिकिर गर्नुभयो । राप्रपा राष्ट्रबादीका केन्द्रिय सदस्य समेत रहनुभएका मिश्रले नेपालमा हिन्दूराष्ट्रको खाँचो रहेकोमा जोड दिनुभयो ।
यसैगरी रोट्रयाक क्लब अफ कपिलबस्तुले जिल्लाको चन्द्रौटामा २९७औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । पृथ्वीनारायण शाहको योगदान र राष्ट्रिय एकताबारेमा कार्यक्रम संयोजक गोपाल बन्जाडेले चर्चा गर्नुभएको थियो । कार्यक्रममा रोट्रयाक क्लब अफ कपिलवस्तुका अध्यक्ष सुनिल गैरेले पृथ्वी नारायण शाहको नाम राजनीतिक रुपमा हेर्दा राष्ट्र निर्माताको अपमान हुनेमा जोड दिनुभयो । अध्यक्ष गैरेले राजावादी दलले मात्र पृथ्वीनारायण शाहलाई मान्नुपर्ने मान्यताको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कृष्ण कार्कीले आज नेपाली भनेर चिनाउन ठूलो योगदान दिने पृथ्वीनारायण शाह देशकै नायक भएको बताउनुभयो । सरकारले उत्सवको रुपमा यो दिनलाई मनाउनु पर्नेमा सरकारी बिदा समेत कतौटी गरेको भन्दै कार्कीले दुःख ब्यक्त गर्नुभयो ।
कार्यक्रममा शिशिर पोख्रेल, रेशम काफ्ले, बिक्रम केसी लगायतले राष्ट्रनिर्माता शाहको योगदानको चर्चा गरेका थिए । कार्यक्रम शाखा अध्यक्ष सुनिल गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २८ पुस २०७५ शनिबार ००:००  ३ : २६ बजे