३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

शिवराजलाई समृद्ध नगर बनाउन जुटौं : नगर प्रमुख अधिकारी



सीताराम चौधरी, कपिलवस्तु ।

सशस्त्र प्रहरी जवानका लागि मेयरकोषबाट निर्मित व्यारेकको एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका ८, देवीपुरस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसमा निर्मित भवन नगरप्रमुख नेत्रराज अधिकारीले समुद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन गर्दै नगरप्रमुख अधिकारीले नागरिकको शान्ति  सुरक्षामा चौबीसै घण्टा खटिने सशस्त्र प्रहरी जवानको बसाईँ व्यवस्थापनमा सहजता ल्याउन मेयर उपमेयरको संयुक्त कोषबाट ट्रष्टको लागि सहयोग गरेको बताउनुभयो । बस्ने बासको राम्रो व्यवस्था नहुँदा जवानले कष्टकर जीवन विताउँदै आएको देखेपछि व्यारेकको लागि आश्वासन दिएको नगरप्रमुख अधिकारीले बताउनुभयो । एक महिना अघि भएको सम्झौता अनुसार छोटो समयमै ट्रष्ट निर्माण गर्न सफल भएकोमा सुरक्षा बेसका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भोजराज पौडेल नेतृत्वको टोलीलाई नगरप्रमुख अधिकारीले प्रशंसा व्यक्त गर्नुभयो ।

नगरप्रमुख अधिकारीले यसको सही सदुपयोग गर्दै नागरिकको शान्ति सुरक्षामा कटिबद्ध भई लाग्न निर्देशन समेत दिनुभयो । साथै सुरक्षा बेसलाई स्थायी रुपमा स्थापित गर्न आफूले सम्बन्धित निकायमा पहल गर्ने समेत अधिकारीले आश्वासन दिनुभयो ।

नगरप्रमुख अधिकारीले शिवराज नगरलाई स्वच्छ, सफा, हराभरा र समृद्ध नगर निर्माणमा जुट्न समेत नगरबासीमा अपिल गर्नुभयो । सबैले स्वच्छ मन बनाएर सामाजिक सेवामा लागे मात्र नयाँ पुस्ताको भविष्य सुनिश्चित हुनेमा नगरप्रमुख अधिकारीले जोड दिनुभयो । शिवराजको सम्पत्ति सबैको साझा सम्पत्ति भएकाले सबैले आ–आफ्नो ठाउँबाट गाउँ समाजका साथै राष्ट्रनिर्माणमा लाग्नुपर्ने तर्क राख्नुभयो । गाउँ समाजको बिनास होइन, विकासमा लाग्नुपर्ने सुझाव दिंदै नगरप्रमुख अधिकारीले आँट र हिम्मत गरे ठूला काम पनि सजिलै गर्न सकिने नगरप्रमुख अधिकारीले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले सशस्त्रलाई यस ठाउँमा टिकाई राख्न नगरपालिकाबाट थोरै सहयोग गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले व्यारेक निर्माणले दिनभरिको ड्यूटीपछि प्रहरी जवानलाई बस्न, सुत्नमा थप राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । आरामदायी बसाईले सशस्त्र जवानमा आफ्नो ड्यूटीप्रति अझ उर्जा थप्ने अधिकृत पौडेलले बताउनुभयो ।

वडाध्यक्ष शंकर अहिरले सुरक्षा बेसलाई स्थायी रुपमा बसाल्न आफूले समेत सक्दो पहल गर्ने आश्वासन दिनुभयो । वडाध्यक्ष अहिरले चारैतिरबाट सहयोग जुटाई छिटो छरितो रुपमा जवानका लागि व्यारेक बनाउन अहम भूमिका खेलेको भन्दै बेसपति पौडेललाई धन्यबाद समेत दिनुभयो ।

कार्यक्रमका बीच बेस प्रमुख सशस्त्र प्रहरी निरीक्षक भोजराज पौडेलले भवनको कूल लागतबारे जानकारी गराउनुभएको थियो । भवन निर्माणमा आर्थिक तथा जिन्सी सहयोग गर्ने सम्पूर्णप्रति आभारी रहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । यसले आफूलाई अझ ड्यूटीफूल बनाउन थप उर्जा मिलेको छ उहाँले भन्नुभयो । व्यारेक निर्माणमा नगर र जनश्रमदान गरी करीब ५ लाख खर्च भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “ट्रस्ट, झ्याल ढोका र मिस्त्री खर्चमा कूल ३ लाख ४२ हजार ६सय ५३ रुपैयाँ खर्च भयो । यसबाहेक विभिन्न सिमेन्ट फेक्ट्रीबाट सिमेन्ट र इँट्टा भठ्ठाहरुबाट इँट्टा सहयोग प्राप्त भएको थियो । यसका साथै स्थानीय तथा सशस्त्र जवान श्रमदान रहेको थियो ।”

जवान व्यारेक निर्माणका लागि शिवराज नगरपालिका मेयरकोषबाट ३ लाख र विजयनगर गाउँपालिकाबाट ५० हजार रकम सहयोग भएको बताइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७५ आइतबार ००:००  ४ : ५९ बजे