२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

गाडी खरिद अनियमितता छिट्टै सार्वजनिक हुन्छ : सभापति चौधरी



मायादेवी अनलाइन, कपिलवस्तु ।
५ नम्बर प्रदेशका मन्त्रालय र प्रदेशसभाले खरिद गरेका गाडीको अनियमितता सम्बन्धी छानविन भएर छाड्ने सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले बताउनुभएको छ । रेडियो मायादेवीको कार्यक्रम जन प्रतिनिधिसंग सोमबार विहान कुरा गर्दै चौधरीले गाडी घोटालाको बिषय दाजमर्दो रहेको भन्दै यसको सत्यतथ्य बाहिर आउने बताउनुभयो ।
उहाँले लेखा समितिले छानवीनको लागि ३ सदस्यिय विशेष समिति गठन गरेको भन्दै त्यसको प्रतिविेदनलाई पनि आफूहरुले आधार मान्ने बताउनुभयो । फरक प्रसंगमा बोल्दै प्रदेशको स्थायी राजधधानीको बिषयको लागि पनि विशेष समिति गठन भएकोले छिट्टै तोकिने बताउनुभयो ।
यद्पी राजधानी बुटवल वा दाङ कहाँ हुन्छ भन्नेबारे भने बोल्न सक्नु भएन । कांग्रेसले स्थायी राजधानीको विषयमा कुनै निर्णय नलिएको भन्दै संसदीय दलका नेता बलदेव शर्माले बोलेको कुरा गलत भएको प्रष्ट पार्नुभयो । नेता शर्माले यसअघि रेडियो मायादेवीको कार्यक्रम जनप्रतिनिधिमा प्रदेशको राजधानी बुटवल नै गर्ने कांग्रेसले निर्णय गरेको बताउनुभएको थियो ।
यता गाडी खरिद अनियमितताको विषयले संसद् बैठकमा पनि प्रवेश पाएको छ । सार्वजनिक लेखा समितिले छानबिन सुरु गरे पनि आइतबारको बैठकमा मात्रै यो विषयले संसद प्रवेश पाएको हो । बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले अनियमितता तत्काल छानबिन हुनुपर्ने माग गर्नुभयो ।
प्रदेश सरकार स्थापित भई नसक्दै लाखौं घोटलाका विषय बाहिर आउनु लाजमर्दो भएको भन्दै सांसदले सरकारले ल्याएको सुशासन नीति कार्यान्वयनमा ल्याउन आग्रह गर्नुभयो । विशेष समयमा बोल्दै सांसद फकुरुद्धिन खानले मन्त्रालय र प्रदेश सभाले खरिद गरेका गाडीमा अनियमितता आशंकाको विषयमा सरकारको ध्यानाकषर्ण गराउनुभएको छ ।
अर्का सांसद दलबहादुर रानाले गाडी खरिदलगायतका सरकारका काम कारबाही निकै निराशाजनक रहेको बताउनुभयो । हिजोको संसद बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले समितिको प्रतिवेदन आउँदासम्म धैर्य गर्न सांसदलाई आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री पोखरेलले वाइडबडी खरिदमा संघीय सार्वजनिक लेखा समितिको प्रतिवेदन भने हचुवा र तथ्यमा प्रवेश नै नगरी भएको दाबी गर्नुभयो । ५ नम्बर प्रदेश सभाले खरिद गरेका ११ वटा र मन्त्रालयले खरिद गरेका ३ वटा गाडीमा अनियतिता भएको भन्दै सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । लेखा समितिको बसेको बैठकले तीन सदस्यीय उपसमिति बनाएर अध्ययन थालेको हो ।
सांसद कुल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय उपसमिति बनाएको छ । उपसमितिको सदस्यमा बैजनाथ कलावर र कल्पना पाण्डे सदस्य रहेका छन् । समितिले अध्ययनको काम थालिसकेको उपसमितिका संयोजक कुलप्रसाद शर्माले बताउनुभयो ।
प्रदेश सभाले टाटा स्ट्रोम गाडी खरिदमा उपभोक्ता मुल्यभन्दा झण्डै चार लाख र मन्त्रालयले साढे चारलाख रकम बढी दिएका छन् । फेज आउट भइसकेको गाडीको मुल्य ६८ लाख ५५ हजार छ । मन्त्रालयले ७३ लाख र संसदले ७२ लाखमा गाडी खरिद गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७५ सोमबार ००:००  २ : ४७ बजे