२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

चन्द्रौटामा नवौं कपिलवस्तु माघी महोत्सवको रौनक शुरु



सीताराम चौधरी, चन्द्रौटा ।

नवौं कपिलवस्तु माघी (खिचडी) महोत्सव एवं नयाँ वर्ष २०७५ जिल्लाको चन्द्रौटामा हिजोदेखि शुरु भएको छ । “हम्मन संस्कृति हम्मनके शान, पहिचान बचयना हम्मनके अभियान” मूल नाराका साथ प्रदर्शनीस्थलमा महोत्सव शुरु भएको हो ।

थारु भेषभूषा, भाषा, कला, संस्कृतिलाई प्रवद्र्धन गर्न थारु कल्याणकारिणीसभा कपिलवस्तुले थारु नयाँ वर्षको शुरुवातसँगै विगत ९ वर्षदेखि महोत्सवलाई निरन्तरता दिंदै आएको छ । विगतका वर्षहरुमा पूर्वका स्थानमा गर्दै आएको महोत्सवलाई यसवर्ष जिल्लाको पश्चिमी क्षेत्रको पर्यटन प्रवद्र्धन र कला संस्कृतिको जगेर्ना तथा थारु जातिको जातीय पहिचानका लागि चन्द्रौटामा महोत्सव आयोजना गरिएको महोत्सव संयोजक एवं थारु कल्याणकारिणी सभा कपिलवस्तुका अध्यक्ष उमाशंकर चौधरीले जानकारी दिनुभएको छ ।

बुधबारदेखि शुरु नवौं माघी महोत्सव प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले पालामा बत्ती बालेर उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन गर्दै मन्त्री बैजनाथ चौधरीले लोप हुँदै गएको थारु जातिको जातीय पहिचान जोगाउन पछिल्लो समय थारु अगुवा अग्रसर भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाले थारु जातीहरु आफ्नो संस्कृति, भेषभुषा, सीपकलाको जगेर्नामा संगठित भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा थारु कल्याणकारिणीसभा केन्द्रिय सदस्य जंजीरप्रसाद थारु, था.क.स. केन्द्रिय सदस्य सुमित्रा थारु, प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी., प्रदेशसभा सदस्य भगवती भण्डारी, जिल्ला समन्वय समिति सहसंयोजक तारावती थारु, नेकपा प्रस्तावित जिल्ला अध्यक्ष झविलाल पोख्रेल, शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, शिवराज नगर उपप्रमुख शिवकुमारी थारु, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, नागरिक समाजका दोलख बहादुर पछाई, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य नन्दराम पौडेल, पत्रकार महासंघ जिल्ला अध्यक्ष डिलाराम भुसाल लगायतले थारु समुदायको संस्कृति जगेर्नामा हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । साथै उहाहरुले महोत्सव सफलताको शुभकामना समेत दिनुभएको थियो ।

माघ ४ गतेसम्म चल्ने महोत्सवमा थारु समुदायको खानपान, भेषभूषा, सीप कलाको प्रदर्शन गरिनेछ । झुमरा, झर्रा, सजनी, विरहनी, मयुर नाच, लट्ठी नाँच, रेकर्ड डान्स प्रतियोगिताका साथै राष्ट्रिय एवं स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । माघी महोत्सवको पूर्वसन्ध्यामा थारु भेषभुषामा सजिएका थारु क्लब, समूहका युवायुवतीहरु हस्तकलाका सामग्री सहित झाँकी ¥याली निकालेका थिए ।

यता संविधान सभाका पूर्व सभासद बलराम अधिकारीले सुखी नेपाल समृद्ध नेपाल बनाउने अभियानमा सरकार लागि परेको र कानून निर्माण गर्न समय लागेको हुँदा तत्काल केहि काम नदेखिए पनि अब काम तीव्र रुपमा देखिने बताउनुभएको छ ।

थारु साँस्कृतिक संरक्षण समिति मोतिपुरले आयोजना गरेको दुसरा वडास्तरीय माघी खिचडी महोत्सव मोतिपुरमा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व सभासद अधिकारीले यस्तो बतानउनुभएको हो ।

वडा न.७ का वडाध्यक्ष विष्णु गिरीले वडामा भौतिक पूर्वाधारको साथ साथै लक्षित वर्गका कार्यक्रमबाट आदिबासी वर्गको पहिचान जनाउन गत वर्षदेखि वडा स्तरीय माघी महोत्सव आयोजना गरिएको बताउनुभयो ।

थारु महोत्सवमा थारुको भेषभुषामा थारु नृत्य र थारुका खानाका परिकारहरु पनि राखिएको छ । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष धुर्व वेल्वासे, समाजसेवी जयलाल गिरी लगायतले थारु महोत्सव सफलताको शुभ कामना दिनु भएको थियो ।

 

प्रकाशित मिति : ३ माघ २०७५ बिहिबार ००:००  १२ : ०७ बजे