११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

विजयनगर गाउँपालिकालाई उत्कृष्ट बनाउन अध्यक्ष थापा सक्रिय, सर्वदलिय सहयोग माग्दै छलफल



रामप्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको पश्चिमी क्षेत्रमा अवस्थित विजयनगरलाई उत्कृष्ट गाउँपालिका गराउन चाहेको गाउँपालिका अध्यक्ष गोपाल थापाले बताउनुभएको छ । विकासको दृष्टिले पछाडि परेको गाउँपालिकालाई देशको नमुना र जिल्लाको उत्कृष्ट बनाउने अभियानमा आफु लागेको अध्यक्ष थापाले स्पष्ट पार्नुभयो । गाउँपालिकामा भएको सर्वपक्षिय, सर्वदलिय भेलामा बोल्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । गाउँपालिकामा धेरै कुराको आवश्यकता रहेको भन्दै आफुले पहिलो प्राथमिकतामा शिक्षा, कृषि र सिंचाईलाई राखेको बताउनुभयो । “गाउँपालिकामा धेरै कुराको विकास आवश्यक छ उहाँले भन्नुभयो, यस बर्ष शिक्षा र कृषिलाई बढी प्राथमिकता दिएको छु ।” चालु आवको बजेटमा शिक्षा क्षेत्रमा धेरै बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । “शिक्षाको विकास विना अरु विकास हुन सक्दैन उहाँले भन्नुभयो, शिक्षामा गुणस्तर बृद्धि गर्नका लागि निकै चिन्तित छु ।”
सर्वपक्षिय भेलामा बोल्ने अधिकांश बक्ताले सामुदायिक विद्यालयको पढाई राम्रो नभएको गुनासो गरेका थिए । शिक्षकले पूरा अवधि नपढाएको, विद्यार्थीको पढाईमा वास्ता नगरेको भन्दै सहभागी सरोकारवालाले सामुदायिक विद्यालयलाई तत्काल सुधार गर्न आग्रह गरेका थिए । उक्त आग्रहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थापाले आफु शिक्षाको विकासमा चिन्तित भएको बताउनुभयो । भौतिक संरचनाले मात्र विकास हुन नसक्ने भन्दै आफुले जिल्लामै सबैभन्दा बढी स्वयम शिक्षक नियुक्त गरेर शिक्षाको गुणस्तरमा ध्यान दिएको बताउनुभयो । चालु आवमा ४० जना स्वयम शिक्षक भर्ना गरेर शिक्षामा विकासको सुरुवात गरेको उहाँले बताउनुभयो ।
“शिक्षक अभावले शिक्षामा प्रगति हुन नसकेको ठहर भयो उहाँले भन्नुभयो, गाउँपालिकाले त्यसको समाधानको लागि ४० जना स्वयम शिक्षक भर्ना गरेको छ ।” गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा ७५ शिक्षक आवश्यक परे पनि अहिले ४० जना शिक्षक भर्ना गरेको उहाँले प्रष्टाउनुभयो । गाउँपालिकाको क्षमता अनुसार शिक्षक नियुक्ती गरेको उहाँको भनाई छ । अबका बाकी दिनमा सबै विद्यालयमा प्रयाप्त शिक्षक दरबन्दी दिने उहाँको योजना छ । गाउँपालिकाले भर्ना गरेका स्वयमसेवक शिक्षक र दरबन्दीमा रहेका शिक्षकले अब सामुदायिक विद्यालयको पढाईमा गुणस्तर ल्याउन मद्धत पुग्ने उहाँको विश्वास छ । यति मात्र नभई समय-समयमा विद्यालयको अनुगमन गर्ने पनि उहाँको तयारी छ ।
विद्यालयमा शिक्षक पुरा अवधि नबस्ने गरेको गुनासा बढेको भन्दै गाउँपालिकाले सबै विद्यालयमा ई-हाजिरी जडान गर्ने तयारी गरेको छ । कतिपय विद्यालयमा ई-हाजिरी जडान गरेको बताउँदै अब सबै विद्यालयमा हाजिरी जडानको तयारी रहेको उहाले बताउनुभयो । “विद्यालयमा जडान गरिएको ई हाजिरीबाट शिक्षक आफ्नो समयमा टिक्ने उहाँको विश्वास थियो । ई-हाजिरीले शिक्षकलाई समयको महत्व सिकाउँछ गाउँपालिका अध्यक्ष थापाले भन्नुभयो, बेला बेलाको अनुगमनले पढाईको स्तरमा जिम्मेवार बनाउँछ त्यस पछि समग्र शिक्षाको विकास हुने हाम्रो विश्वास छ ।”
शिक्षा संगै गाउँपालिका अध्यक्ष थापाको प्राथमिकतामा कृषि र सिंचाई पनि रहेको छ । सिंचाईको असुविधाले सयौं हेक्टर खेतीयोग्य जमिन बाँझै रहेको बेला गाउँपालिकाले सिंचाईमा विभिन्न सुविधा ल्याउने तयारी गरेको छ । सिंचाईको सुविधाका लागि गाउँपालिकाले बोरिङ, स्याबो टुय्बेल जडान देखि साना साना पोखरीको मर्मत सम्भार गर्ने योजना बनाएको हो । यसै गरी नजिकैका खोलामा ड्याम निर्माण गरी पानी संकलन गरेर सिंचाई सुविधा पु¥याउने योजना रहेको अध्यक्ष थापाले सुनाउनुभयो ।

सिंचाईको सुविधा पछाडी कृषि क्षेत्रको सोचेजस्तो प्रगति हुने अध्यक्ष थापाको विश्वास छ । कृषिको व्यवसायिककरण र आधुनिककरणको कुरा उठ्न थालेको बर्षौ भएपनि प्रगति नभएको सन्दर्भमा विजयनगर गाउँपालिकाले कृषि क्षेत्रमा देखिने गरी योजना बनाउँदै छ । किसानमैत्री बजेट निर्माण, विभिन्न समयमा तालिमको व्यवस्था, कृषि औजारको प्रयोगलाई प्राथमिकतामा राखेर गाउँपालिकाले कृषिको क्षेत्रमा आमूल परिवर्तन गर्ने सोचमा छ ।
गाउँपालिकामा अध्यक्ष थापाकै बहुमत छ । तर, पनि गाउँपालिकाको विकासमा सबैको हातेमाले आवश्यक रहेको भन्दै उहाँले गाउँपालिकामा सर्वदलीय भेला बोलाउनुभएको हो । यो जिल्लाकै नमुना काम हो । सर्बदलीय, सर्वपक्षिय भेलामा विभिन्न पार्टीका नेताको उपस्थिती रहेको थियो । हरेक वडा भित्रका ७ जना सर्वदलिय, सर्वपक्षिय र सामाजिक अगुवाको उपस्थिती रहेको भेलामा गाउँपालिकाको विकास कुनै व्यक्तिले गर्न नसक्ने भन्दै सबैको हातेमालो आवश्यक रहेको कुरामा जोड दिइएको थियो । सहभागी सबैले गाउँपालिकाको विकास आफुले सहकार्य गर्ने सबै पार्टीका प्रतिनिधिले बताएका थिए ।
गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको नेतृत्व गरेदेखि राम्रो काम गरेको भन्दै सहभागी सबैले खुलेरै प्रशंसा गरेका थिए । बेला बेला अध्यक्ष थापाले सर्वदलीय, सर्वपक्षिय भेला बोलाएर आफुहरुका सुझाव लिने गरेको भन्दै समाजसेवी जहिरुल हसन खाँले खुलेरै प्रशंसा गर्नुभयो । गाउँपालिकाको विकास धेरै राम्रो भएको छ समाजसेवी खाँले भन्नुभयो, “अध्यक्ष थापालाई सघाउन हामी तयार छौं ।” गाउँपालिकामा तत्काल शिक्षा क्षेत्रको विकास आवश्यक रहेकोमा खाँले जोड दिनुभयो । यसैगरी कर्मचारीतन्त्रलाई पनि सुधार गर्दै जानुपर्नेमा उहाँको जोड थियो । स्थानीय सरकारबाट नागरिकको आशा र अपेक्षा धेरै रहेको भन्दै उहाँले कर्मचारीले पनि जनताको माग अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सहभागी समाजसेवी राजेश कुमार उपाध्याय, बालाजी चौधरी लगायतले गाउँपालिकाको विकासमा आफुहरुले संगै हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
सहभागी सबै पक्षबाट उठेका सकारात्मक तथा नकरात्मक प्रतिक्रियालाई सम्बोधन गर्दै अध्यक्ष थापाले बेला बेलामा आफुले सबै पक्षलाई बोलाएर सुझाव लिने प्रतिबद्धता जनाउनुभयो । शिक्षा, कृषि र सिंचाईमा गाउँपालिकाले विशेष जोड दिए पनि पूलपुलेसा, बोटोघाटोमा पनि उत्तिकै ध्यान दिने बताउनुभयो । ठूला भौतीक निर्माणको विकास गर्न प्रदेश र केन्द्र सरकार तयार रहेको भन्दै साना साना भौतिक विकास गाउँपालिकाले गर्ने बताउनुभयो । प्रदेश र केन्द्र सरकार संगै ठूला ठूला विकासका लागि हात फैलाएको जानकारी दिदै उहाँले आफ्नै कार्यकालमा थुप्रै विकास हुने बताउनुभयो । ठूला विकास होचुवाको भरमा गर्न नहुने भन्दै गुरुयोजना बनाएर लाग्ने उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति : ११ माघ २०७५ शुक्रबार ००:००  ९ : ३४ बजे