५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एकदिवसीय श्रृंखलामा नेपालको शानदार जीत, युएई १४५ रनले पराजित



काठमाण्डौ ।
युएईमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा सन्दीप लामिछाने र सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि नेपालले १ सय ४५ रनले जित हात पारेको छ।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ८ विकेटको क्षतिमा निर्धारित ५० ओभर खेल्दै घरेलु टोली युएईलाई २ सय ४३ रनको लक्ष्य दिएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको युएई नेपालको कसिलो बलिङसामु टिक्न सकेन। १९।३ ओभर खेल्दै युएई ९७ रनमै अलआउट भयो।
यो जितसँगै युएई र नेपाल एकदवसीय सिरिजमा बराबरीमा पुगेका छन्।
नेपालका तर्फबाट बलर सोमपाल कामी एक्लैले ५ विकेट लिए। त्यसैगरी सन्दीप लामिछानेले ४ र करण केसीले १ विकेट लिए।
सोमपालले पहिलो ओभरमै युएईका चिराङ सुरीलाई आउट गरेका थिए। त्यसैगरी घुलाम सब्बर, शैमान अनवार र असफाक अहमदलाई पनि उनले लगातार पेभिलियनको बाटो देखाइदिए। १९औं ओभरमा पुनस् बलिङ गर्न आएका सोमपालले जहुर खानको विकेट लिँदै युएईलाई ९७ रनमा समेटे।
सन्दीपले भने १४औं ओभरको दोस्रो बलमा रिज्वान, तेस्रो बलमा फहद नवाज र छैटौं बलमा अमिर हायतको विकेट लिए। यसैगरी उनले १८औं ओभरको पाचौं बलमा मोहम्मद उसमानको विकेट झारे।

करणले १७औं ओभरको चौथो बलमा मोहम्मद नाभीदलाई पेभेलियनको बाटो देखाए।
टस जितर ब्याटिङ रोजेको नेपाललाई जित दिलाउन ब्याट्सम्यान रोहितकुमार पौडेलको योगदान महत्वपूर्ण रह्यो। उनले ५८ बलमा अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन जोडे।

ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ४४ र बसन्त भण्डारीले २१ रन जोडेका थिए। कप्तान पारस खड्काले ३१ बल खेल्दा २१ रन जोड्न सके। यस्तै आरिफ शेखले २९, करण केसीले १८, दीपेन्द्रसिंह ऐरीले १० रन बनाए। सोमपाल कामी भने २ रनमै आउट भएका थिए।
सन्दीप लामिछानेले २ चौकाको सहयोगमा १४ रन जोड्दा ललित राजवंशीले ५ बलमा ३ रनमात्र जोडेका थिए।
यो सिरिजको विजेता बन्नका लागि नेपाल युएईबीच अब अन्तिम खेल सोमबार हुनेछ।

प्रकाशित मिति : १२ माघ २०७५ शनिबार ००:००  ११ : ५२ बजे