५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

टोटनह्याम दोस्रो नकआउट प्रतियोगिताबाट बाहिरियो



एजेन्सी ।
एफए कपको चौथो चरणमा क्रिष्टल प्यालेससँग पराजित भएपछि टोटनह्याम चार दिनको बीचका दोस्रो नकआउट प्रतियोगिताबाट बाहिरिएको छ ।
टोटनह्याम गएको बिहीबार चेल्सीसँग पेनाल्टी शुटआउटमा पराजित हुँदै लिग कपको सेमिफाइनलबाट बाहिरिएको थियो ।
आइतबारको खेलमा क्रिष्टल प्यालेसविरुद्ध ३५ मिनेटभित्रै २ गोलले पछि परेको टोटनह्याम खेलमा फर्कन सकेन ।
कनर विकह्यामले क्रिष्टल प्यालेसका लागि सन् २०१६ को नोभेम्बरयता पहिलो गोल गर्दा नवौं मिनेटमै टोटनह्याम एक गोलले पछि परेको थियो ।
टोटनह्यामकै पूर्व मिडफिल्डर आन्द्रोस टोनसेन्डले पेनाल्टीमार्फत ३४औं मिनेटमा क्रिष्टलका लागि दोस्रो गोल गरेका थिए ।
पहिलो हाफको अन्त्यतिर टोटनह्यामले पेनाल्टीको अवसर पाएको थियो । तर, केरियन ट्रिपरको प्रहार बाहिरिएपछि टोटनह्यामले गोल अन्तर कम गर्ने अवसर गुमाएको थियो ।
टोटनह्यामले दुई खेलमा तेस्रो पटक पेनाल्टी गुमाएको हो । बिहीबारको खेलमा चेल्सीविरुद्ध लुकास मोउरा र एरिक डायरले पेनाल्टीमा गोल गर्न चुकेका थिए । ब्यापक रुपमा परिवर्तित देखिएको टोटनह्याम प्यालेसविरुद्धको खेलमा कमजोर देखियो ।
केही उत्कृष्ट अवसर पाए पनि टोटनह्यामले गोल गर्न सकेन । उसको प्रहारमा प्यालेसका ३९ वर्षीय अर्जेन्टाइन गोलरक्षक जुलियन स्पेरोनी बाधक बने ।
सन् २०१६ पछि एफए कपको अन्तिम १६ मा पुगेको क्रिष्टल प्यालेसका समर्थकले खेल सकिएपछि सानदार ढंगले खुसियाली मनाएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७५ सोमबार ००:००  १ : ५१ बजे