१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

वाणगंगा सूचना प्रविधीमा फड्को मार्दै, मोवाईल एप निर्माण देखि सबै वडामा इन्टरनेट जडान



गिता अर्याल, वाणगंगा ।
सरकारी निकायको जनतासंगको सम्वाद मजबुत गराउन र सूचनाहरु तीब्र गतिमा आदान प्रदान गर्न र जनगुनासाहरु तत्काल समाधान गर्न सरकारी निकायमा सामाजिक संजाल तथा सूचना प्रविधीको प्रयोग पनि बढ्दै गएको छ ।
यहि क्रममा वाणगंगा नगरपालिकाले सूचना प्रविधीको प्रयोगलाई उच्च प्राथमिकता दिएको छ । नगरपालिकाको फेसबुक पेज र ट्वीटर खाता खोली संचालनमा ल्याएको छ । जसले जनतासंग सम्बाद गर्न र नगरपालिका सम्बन्धी जनगुनासा सुन्ने र आफना सार्वजनिक महत्वका सूचनाहरुलाई जानकारी दिने काम गरेको वाणगंगा नगरपालिकाका सूचना अधिकृत सम्राट रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार वाणगंगा नगरपालिकाले नगरवासीका हातहातमा सूचना पु¥याउन मोवाईल एप निर्माण, एघार वटै वडामा इन्टरनेट जडान, ई–हाजिरीको व्यवस्थापन गरी सेवा प्रवाहलाई सहज र सरल बनाएको छ । सवै वडा कार्यालय र नगरपालिकामा ई हाजिरी जडान गरी कर्मचारीहरु समयमै उपस्थित हुने कुरामा समेत निगरानी बढाइएको छ ।
सवै वडाहरुमा इमेल मार्फत सूचनाहरु आदान प्रदान गर्दै कार्यालयलाई पेपरलेस बनाउदै लगिएको छ, सूचना अधिकृत रेग्मीले भन्नुभयो – सेवाग्राहीलाई सहज र सरल तरिकाले वडामै सुविधा दिन नगरपालिकाका एघार वडाबाटै राजश्व संकलन, अनलाइन मार्फत घटना दर्ताको सेवा दिदै आएको छ । त्यस्तै नगरपालिकाले नगरक्षेत्रका २ वटा धार्मिक तथा ऐतिहासिक स्थलमा फ्रि वाईफाई जोन निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटकलाई सुविधा प्रदान गरेको छ । सधै भिडभाड हुने पिपरा सुपा देउराली मन्दिर र राजापानीमा फ्रि वाईफाई जोन निर्माण गरेर सूचना प्रविधीमा सहज बनाइएको हो । नगरपालिका भित्र सिसिटिभी क्यामेरा जडान गरेको छ भने नगरपालिकाको आफनो वेभसाइटमा सूचना तथा नगरगतिविधीहरुलाई निरन्तर अपडेट गर्दै आएको छ ।
निर्माणाधिन सुविधा सम्पन्न नगरपालिकाको नयाँ भवनबाट वैशाखबाटै सेवाग्राहीलाई सहज र सरल तरिकाले सेवा सुविधा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिनुभयो । उहाँले कार्यालयलाई प्रविधीयुक्त बनाउदै डिजिटल वडापत्र, लाइव्रेरी, वाइफाई जोन लगाएतका अन्य प्रविधी र जानकारीमुलक सूचनाहरु कार्यालयमा राखिने बताउनुभयो ।
सूचना तथा संचार प्रविधीको दु्रत विकास र प्रयोगबाट ग्रामिण क्षेत्रको आर्थिक तथा सामाजिक विकास गरी जीवनस्तर माथी उठाउन धेरै सम्भावना र अवसर रहेको वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो अहिलेको युग सूचना प्रविधीको युग हो र विश्व परिवेश नै यस प्रविधीको प्रयोगमा धेरै अगाडी बढिसकेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  १२ : ०७ बजे