१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यूएईसंग नेपाल २१ रनले पराजित



एजेन्सी ।
यूएईविरुद्धको पहिलो टी–२० क्रिकेटमा नेपाल २१ रनले पराजित भएको छ । यूएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धा्रित ओभरमा ७ विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो । नेपालले सुरुआत भने राम्रो गर्न सकेन ।
पहिलो ओभरको पहिलो बलमै प्रदीप ऐरी आउट भएपछि नेपाल सुरुमै दबाबमा आयो । दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर टिक्न सकेनन् । उनी ४ रनमा आउट भए ।
ओपनिङका कप्तान पारस र सन्दीप जोराले नेपाली टिमलाई उकास्ने प्रयास गरे पनि पारस २५ रन बनाएर आउट भए । पाँचौ खेलाडीको रुपमा मैदान आएका सन्दीप जोराले एक छेउबाट उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए पनि अन्य खेलाडीबाट साथ पाउन सकेनन् ।
सन्दीप जोरा ५३ रन बनाएर अन्तिमसम्म टिकेका थिए । रोहित पौडेल र करण केसी समान चार चार रनमा आउट भएपछि क्रिजमा आएका सोमपाल कामी १९ बलमा २७ रन बनाउँदै आउट भए ।
टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । युएईका लागि शैमान अनवरले सर्वा्धिक ५९ रनको योगदान दिए । त्यस्तै मुहम्मद उस्मानले ३० रन जोडे । युएईले ३ रन बनाएको अवस्थामा सन्दिप लामिछानेले पहिलो विकेट लिएका थिए ।
अश्फाक अहमद २ रन बनाएर बसन्त रेग्मीको बलमा क्याचआउट भए । त्यसपछि पाँचौं ओभरमा सोमपाल कामीले गुलाम शाब्बरलाई सन्दिप जोराबाट क्याचआउट गराएका थिए । तेस्रो विकेटका रुपमा युएईका सिपी रिजवान आउट भए । उनीले बसन्त रेग्मीको बलमा प्रदीप ऐरीबाट क्याचआउट हुनपूर्व २२ रन बनाएका थिए ।
त्यसपछिको पार्टनरसिप भने बलियो बन्यो । मुहम्मद उश्मान र शैमान अनवरले ६१ रनको बलियो साझेदारी गर्दै युएईलाई एक सय रनको आँकडा पार गराए । सन्दिप लामिछानेले उश्मानलाई पारस खड्काबाट क्याचआउट गराएपछि सो पार्टनरसिप तोडिएको थियो । त्यसपछि शैमान पनि अविनाष बोहराको बलमा बोल्ड भए ।
युएईका लागि मोहमद बुताले अविजित २० रन बनाउँदा कप्तान मोहम्मद नाभिद बसन्त रेग्मीबो बलमा स्टम्प भए । ब्लिङतर्फ सन्दिप लामिछाने र बसन्त रेग्मीले दुई दुई विकेट लिए भने सोमपाल कामी र अविनाष बोहराले एक एक विकेट लिए ।

प्रकाशित मिति : १७ माघ २०७५ बिहिबार ००:००  २ : २६ बजे