२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

भएको कर पनि घटाउने नगर प्रमुख श्रेष्ठको संकेत !



मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नागरिकलाई करको बोझ नथप्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्थानीय तहले कर बढाएर जनतालाई ढाड सेकेको गुनासो आईरहेको बेला नगर प्रमुख श्रेष्ठले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । बुद्धभूमि नगरपालिकाको चौथो नगरसभामा शुक्रबार बोल्दै उहाँले नगरपालिकाले कर नबढाए पनि करको दायरा भने बढाउने स्पष्ट पार्नुभयो । करको दायरा बढाउन सके नगरपालिकाले लक्ष्य लिए जति राजश्व उठ्ने भन्दै नगरपालिकाको ध्यान यस तर्फ जाने बताउनुभयो ।
जनताको साथ र मायाले नगरको नेतृत्व गर्न पुगेको प्रति गौरव गर्दै उहाँले जनताको चाहना भन्दा फरक तरकाले अगाडि नबढ्ने उहाँले बताउनुभएको छ । जनप्रतिनिधिहरु जनताको सेवक भएको भन्दै जनताको घरदैलोमा गएर सेवा दिन उहाले सबै जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
नगरसभामा छलफल भैरहेको बेला केही नगरसभा सदस्यले आफुहरुको भत्ता बढाउनुपर्ने माग राखेका थिए भने पोशाक पनि पाउनुपर्ने माग राखेका थिए । उक्त मागबारे प्रष्ट पार्दै नगरप्रमुख श्रेष्ठले आफुबाट त्यो सम्भव नभएको प्रष्ट पार्नुभयो । जनप्रतिनिधि भत्ता पाउनका लागि निर्वाचित नभएको भन्दै जनताको बीचमा गलत सन्देश जाने माग नराख्न उहाँले नगरसभा सदस्यलाई आग्रह गर्नुभएको छ ।
विकास निर्माणको बारेमा बोल्दै उहाले बुद्धभूमिलाई सबैको साथ र सहयोगबाट मात्र राम्रो बनाउन सकिने बताउनुभयो । नगरमा निर्वाचित सबै जनप्रतिनिधि एउटैबारीका फूल भएको भन्दै आफुले सबैलाई समान व्यवहार गर्ने बताउनुभयो ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले नगरपालिकाबाट जनताले पाउँने सेवा छिटो, छरिटो बनाउने कोसिस भैरहेको बताउनुभयो । कर्मचारी अभावको कारण काममा केही ढिलासुस्ती भएपनि आफुहरुले सकेको व्यवस्थापन गरिरहेको उहाले बताउनुभयो । नगरसभा सदस्यले सम्झौता र भुक्तानी लिदा धेरै समय लाग्ने गरेको गुनासा गरेका थिए ।
उक्त गुनासालाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले सबै सम्झौता वडामा गर्ने व्यवस्था मिलाउने बताउनुभयो । सम्झौतालाई चाहिने जति सबै कागजात वडामा मिलाउने र हस्ताक्षर गर्न मात्र नगरपालिकामा आउने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो । त्यो समस्या समाधान गर्न सके नागरिकको काम छिटो छरिटो हुनेमा उहाले विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  २ : १९ बजे