२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

सिमसार दिवसको पूर्वसन्ध्यामा जगदीशपुर तालमा सरसफाई



कपिलवस्तु ।
चराको स्वर्ग मानिने जगदीशपुर ताल सरसफाई गरिएको छ । श्निबार हुने विश्व सिमसार दिवसलाई उल्लासपूर्ण बनाउन ताल सरसफाइ गरिएको हो । स्थानीय युवा, महिला, वृद्धवृद्धा सरसफाइका लागि जुटेका थिए ।
सबैले घरबाटै कुचो, हँसिया र आसी लिएर आएका थिए । उनीहरूसँगै नारायण दल गुल्मका सेना र सशस्त्र प्रहरीको २८ नम्बर गणका प्रहरी सहभागी भई सरसफाइ गरिएको थियो ।
तालको दक्षिण र पश्चिम किनारको २ किमिसम्म सरसफाइ गरिएको छ । त्यहाँका स–साना रूखबिरुवा, झारपात काटिएको छ । रूख काटेर जलाइएको छ । चाउचाउ, बिस्कुट, कुरमुरे र चकलेटलगायतका प्लास्टिक संकलन गरी नष्ट गरिएको थियो । संकलित फोहोरलाई जलाइएको थियो । ताल सरसफाइमा सेना, सशस्त्र, नेपाल प्रहरी, स्थानीय ताल समूहका सदस्यसहित ३ सयभन्दा बढी जुटेका थिए ।
१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको तालमा १ सय ६७ बढी प्रजातिका चरा पाइने आईयूसीएनले जनाएको छ । ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाइने पंछी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ । त्यस्तै यहाँ पानीबिरालो पनि पाइने अध्ययनले देखाएको छ । प्राकृतिक विविधताले भरिपूर्ण मनोरम भएकै तालले सन् २०१४ मा संयुक्त राष्ट्रसंघीय पुरस्कारसमेत प्राप्त गरेको छ । तालमा शनिबार २३ औं विश्व सिमसार दिवसका उपलक्ष्यमा छैटौंचरा महोत्सव हुँदैछ ।
जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चद्वारा आयोजित महोत्सवमा चरा, प्रकृति र सिमसारको अन्तरसम्बन्ध झल्कने वृत्तचित्र, पोस्टर, पम्प्लेट र तस्बिर प्रदर्शन गरिनेछ । त्यस्तै जगदीशपुर ताल वरिपरि ५ किमिमा म्याराथुन दौड गराइनेछ । चराको महत्त्व बुझाउने निबन्ध र चित्रकला प्रतियोगिता पनि हुनेछ ।
महोत्सवमा आउनेलाई चराबारे जानकारी दिइनेछ । २ ठूल्ठूला ट्राइपोटमा बाइनाकुलर जडान गरेर नेचर गाइडबाट चरा अवलोकन गर्न पाइने आयोजकले जनाएका छन । नारायणी पश्चिमका लागि नौलो र पहिलो चरा महोत्सव हो ।

प्रकाशित मिति : १८ माघ २०७५ शुक्रबार ००:००  २ : २२ बजे