९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

नेविसंघले जलायो पोखरा महानगरपालिकाको गाडी



कास्की ।
सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ ।
संघले आज देशैभर सरकारी गाडी रोक्ने कार्यक्रम राखी आन्दोलन गरेको छ । यसै सिलसिलामा शनिबारको दिन बिहानै चलाइएको सरकारी गाडी जलाएको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा कास्कीका नेता सरोज केसीले जानकारी दिनुभएको छ । नेपाल विद्यार्थी संघले सरकारी गाडीमा निरन्तर निगरानी राखेको पनि उहाँले बताउनुभयो ।
यो गाडी पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन उहाँको डेरा मासबार गएको थियो । गाडीमा रहेका व्यक्तिहरुलाई झारेर विद्यार्थीहरुले आगो लगाएका थिए । दमकलले आगो निभाएको भए पनि गाडी जलेर काम नलाग्ने अवस्थामा छ । आगो लगाउने विद्यार्थीहरु मोटरसाइकल चढेर भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ७ : ३६ बजे