८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

भेनेजुएला संकट स् राष्ट्रपति मदुरोविरुद्ध प्रदर्शन



काराकास ।
भेनेजुएलाका विपक्षी आन्दोलनकारीले राष्ट्रपति निकोलस मदुरोविरुद्ध बृहत् प्रदर्शन गरेका छन्। अमेरिका लगायतका देशहरुको समर्थन पाएका विपक्षी नेता हुँवा गुएइदोको नेतृत्वमा विपक्षीहरुले शुक्रबार व्यापक प्रदर्शन गरेका हुन्।
उनीहरुले राष्ट्रपति मदुरोलाई तत्काल निष्पक्ष निर्वाचनको वातावरण बनाउन माग गरेका छन्। युरोपेली सङ्घमा आबद्ध प्रमुख देशहरुले पनि एक हप्ता भित्रमा नयाँ निर्वाचनको वातावरण बनाउन मदुरोलाई अल्टिमेटम दिएका थिए। उनीहरुले तत्काल निर्वाचनको वातावरण नबनाएमा मदुरोलाई सहयोग गर्न नसक्ने र आफैले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुएइदोलाई समर्थन गर्ने बताएका थिए।
भेनेजुएलाको राष्ट्रियसभाका अध्यक्ष गुएइदोले राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै केही दिनअघि आफैले अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।
राजनीतिक सङ्घर्ष चुलिँदै गएपछि कतिपयलाई देश निकाला गरिएको छ भने कतिपय आफैँ विस्थापित भएका छन्।
राष्ट्रपति मदुरो र सेनाबीच छलफल
यसैबीच राष्ट्रपति मदुरोले सुरक्षा अधिकारीहरुसँग छलफल गरेका छन्।
उनले आन्दोलनलाई नियन्त्रण गर्ने र त्यसका लागि आवश्यक तयारी तथा व्यवस्थापनका बारेमा छलफल गरेका हुन्। ’गुप्तचर सम्बन्धी कार्यलाई अझ सशक्त बनाउन आवश्यक छ, यसको क्षेत्र विस्तार गर्दै निरोधक बनाउनुपर्ने भएको छ,’ मदुरोले भने।
विपक्षी नेता गुएइदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विभाजित भेनेजुएलाका निकायहरुमध्ये सुरक्षाकर्मीहरुले राष्ट्रपति मदुरोलाई नै समर्थन गरेका छन्। विशेषगरी भेनेजुएलाको शक्तिशाली सेनाले गुएइदोलाई नचिन्ने स्पष्ट पार्दै मदुरोकै साथमा रहेको जनाएको छ।
अमेरिकासहित युरोपेली सङ्घका देशहरुको समर्थन प्राप्त गरेका ३५ वर्षीय नेता गुएइदोले यसअघि आफूलाई देशकै सुरक्षाकर्मीबाट सुरक्षा चुनौती रहेको बताएका थिए। उनलाई देश छाड्न प्रतिबन्ध लगाउँदै सम्पत्ति रोक्का पनि गरिएको छ।
विपक्षीहरुले बहिस्कार गरेको निर्वाचनलाई नै वैध मानेर मदुरोले राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेपछि अहिले भेनेजुएलामा राजनीतिक सङ्घर्ष चर्किदै गएको छ।

प्रकाशित मिति : १९ माघ २०७५ शनिबार ००:००  ८ : ५५ बजे