२३ मंसिर २०८१, आइतबार | Mon Dec 9 2024

कृष्णनगर चैत्र भित्रै खुल्ला दिसा मुक्त हुने, अभियानमा साथ दिन मेयर शाहको आग्रह



मायादेवी अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकालाई यही चैत्र महिना भित्र खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्ने मिति पटक पटक सर्दै आएको छ । तर यसपालि जसरी भएपनि खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीमा नगरपालिका लागेको छ । १२ वडा रहेको कृष्णनगरमा चार वडा मात्र हाल सम्म खुल्ला दिसा मुक्त घोषित भैसकेका छन । बाँकी वडालाई खुल्ला दिसामुक्त बनाउने अभियान जारी रहेको नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।
खोलानाला समयमा खुल्न नसक्दा यसको असर शौचालय निर्माणमा परेको नगर प्रमुख शाहले तर्क गर्नुभयो । सिंगो नगरपालिकालाई खुल्ला दिसामुक्त बनाउने अभियान चुनौती पूर्ण रहेपनि आफुहरुले चैत्र महिना सम्म नगरलाई खुल्ला दिसामुक्त घोषणा गरी छाड्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ । अहिले खुल्ला दिसामुक्त घोषणाका लागि युनिसेफ, सुआहाराले पनि काम गरिरहेको उहाँले बताउनुभयो । खोलानालाको ठेक्का लागि सकेको भन्दै अब तत्काल बन्न नसकेका शौचालय बनाएर काम अगाडी बढाउने उहाँले योजना सुनाउनुभयो ।
कतिपय वडामा शौचालय बनाउन अटेरी गरेको पाइए पछि वडाबाट पाउने सिफारिस रोक्का गरिएको उहाँले जानकारी दिनुभयो । शौचालय निर्माण नगर्ने व्यक्तिलाई नगरपालिकाबाट पाउने हरेक सेवा सुविधा रोक्का गरेर काम अगाडि बढाइएको उहाले बताउनुभयो । शौचालय नगरपालिकाका लागि नभएर आफ्ना लागि बनाउनुपर्ने भन्ने खुल्ला दिसामुक्त पार्ने अभियानमा साथ दिन नगरबासीलाई नगर प्रमुख शाहले आग्रह गर्नुभएको छ ।
यता खुल्ला दिसा मुक्त घोषणाको सहजीकरण गरिरहनुभएका राजेश चौधरीले खुल्ला दिसामुक्त हुन नसकेका वडामा सहजकर्ता नियुक्त गरेर काम अगाडि बढाएको बताउनुभएको छ । शौचालय निर्माणका लागि समाजमा सचेतना बढेको भन्दै अब काम गर्न सहज हुने चौधरीले विश्वास व्यक्त गर्नुभएको छ । शौचालय निर्माणका लागि वडा कार्यालयले पनि सघाई रहेको भन्दै उहाँले सबैको साथ र सहकार्यबाट मात्रै खुल्ला दिसा मुक्तको अभियान सफल हुने बताउनुभयो ।
कृष्णनगर मात्र होइन कपिलवस्तुका अरु स्थानीय तह पनि खुल्ला दिसामुक्त घोषणा हुन सकेका छैनन । अहिले सम्म नगरपालिका तर्फ वाणगंगा र बुद्धभूमि मात्र खुल्ला दिसामुक्त घोषणा भएका छन भने गाउँपालिका तर्फ विजयनगर मात्र खुल्ला दिसामुक्त घोषणा भएको छ । अरु स्थानीय तहमा अभियान जारी छ ।

प्रकाशित मिति : २३ माघ २०७५ बुधबार ००:००  ३ : १३ बजे