१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

हात्तिपाइले रोग विरुद्धको औषधि खान नगर प्रमुख श्रेष्ठको आग्रह



मायादेवी अनलाइन, बुद्धभूमि ।

हात्तिपाइले रोग विरुद्धको अभियानलाई आफु सक्दो सघाउने बुद्धभूमि नगरपालिकाका सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन । जिल्लामा यही फाल्गुण १५ गते हात्तिपाइले रोग विरुद्धको अभियान सञ्चालन हुँदै छ । यही अभियान अन्तर्रगत शनिबार नगरपालिकामा आयोजित अन्तर्रक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले प्रतिवद्धता व्यक्त गरेका छन । जिल्लामा १२ बर्ष देखि अभियान सञ्चालन भएपनि प्रभावकारी हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै आ–आफ्नो क्षेत्रबाट आफु सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।

कार्यक्रममा उपस्थित राजनीतिक दलका अगुवा, सामाजिक क्षेत्रका अगुवा, शिक्षाप्रेमी, सञ्चारकर्मी सबैले नगरभित्रका सबै नागरिकलाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउनुपर्नेमा जोड दिएका थिए ।

अन्तरक्रियामा बोल्दै नगर प्रमुख केशव कुमार श्रेष्ठले हात्तिपाइले रोग विरुद्धको औषधि सबैले सेवन गर्नुपर्नेमा जोड दिनुभयो । औषधि आफ्ना लागि खानुपर्ने भएकोले हेलचेक्राई नगर्न नगरबासीलाई आग्रह गर्नुभयो । अभियानमा आफु संगै सिंगो नगरपालिकाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्यकर्मीहरु औषधि वितरणका लागि घरघरमा आउने भन्दै सबैले औषधि खाएर अभियानलाई सफल पार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, नेकपाका नगर कमिटी अध्यक्ष पिताम्बर खनाल, कांग्रेसका नगर सभापति हिमलाल न्यौपाने, वडा अध्यक्ष कपिलदेव तिवारी लगायतले अभियानमा साथ दिने प्रतिवद्धता जनाउनुभएको थियो । नगरका स्वास्थ्य शाखाका गोकर्ण अर्यालको सहजीकरणमा भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख डोलविक्रम बेल्वासेले अभियान अन्तर्रगत नगरका १० ओटै वडामा स्वास्थ्यकर्मीले टोली औषधि खुवाउन परिचालित गरिएको बताउनुभयो । स्वास्थ्यकर्मीको टोली एक साता लगाएर औषधि खुवाउनेछन । साथै नगरका ६८ हजार ६ सय ९० जनसंख्यालाई औषधि खुवाउने लक्ष्य लिइएको नगरको स्वास्थ्य शादाले जनाएको छ ।

हात्तीपाईले उच्चेरिया बाक्रोफटी नामको परजीवीबाट लाग्दछ । यो परजीवी एक ब्यक्तिबाट अर्कोमा लामखुट्टेको टोकाईबाट सर्दछ । केटाकेटीहरु यो रोग जोखिममा रहने स्वास्थ्यकर्मी बताउँछन् । यो रोग लागे पछि खुट्टा सुन्निएर हात्ती जस्तै हुने, हात स्तन सुन्निने गर्छ । यो औषधी २ बर्ष मुनीका बालबालिका, ७ दिनको सुत्केरी, कडा रोग लागेका र ७० बर्ष नाघेकाले सेवन गर्न नहुने डाक्टरहरु बताउँछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५ शनिबार ००:००  ५ : ०२ बजे