१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

बुद्धभूमिः प्लाष्टिक जन्य पदार्थको प्रयोगमा निषेध !



दिपक अनुरागी, बुद्धभूमि ।
विकास निर्माणको काममा अग्रणी स्थानमा रहेको बुद्धभूमि नगरपालिकाले प्लाष्टिक जन्य पदार्थको प्रयोगमा रोक लगाउने भएको छ । प्लाष्टिक जन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समेत प्रतिकूल प्रभाव पार्ने भएको भन्दै यसको प्रयोगमा रोक लगाउन थालिएको हो । नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले दैनिक उपभोग्यको क्रममा अत्याधिक प्रयोग हुने प्लाष्टिक जन्य सामग्रीलाई रोक लगाउने अभियानमा नगरपालिका जुटेको मायादेवी अनलाइनलाई बताउनुभयो । प्लाष्टिकले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पार्ने भएकोले नगरबासीलाई यसको प्रयोग नगर्न नगर प्रमुख श्रेष्ठले आग्रह गर्नुभएको छ ।
पुस १९ गते बसेको नगरकार्यपालिकाको बैठकले नगरभित्र प्लाष्टिकजन्य पदार्थको प्रयोग बन्द गर्ने निर्णय गरेको थियो भने माघ तेस्रो हप्ता सम्पन्न चौथो नगरसभाबाट निर्णय पारित भएको छ । यो संगै नगरपालिकामा प्लाष्टिक जन्य पदार्थ बन्द गर्ने अभियान सुरु भएको हो । नेपाल सरकारको कुनै निकायमा दर्ता भई सञ्चालनमा आएका सम्बन्धित वडा भित्रका संघ, संस्था, कार्यालयलाई सो सम्बन्धि व्यवस्थापनका लागि पत्रचार गरिसकेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । नगरले चाहेर मात्र प्लाष्टिक जन्य पदार्थको प्रयोग रोक्न नसक्ने भन्दै यस अभियानमा सबै नगरबासीको साथ हुनुपर्नेमा उहाले जोड दिनुभयो ।
चिकित्सकहरुका अनुसार प्लाष्टिक कप, प्लेट र प्याकेजिङमा राखिएको खानाले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने गर्छ । साथै वातावरणविद्का अनुसार प्लाष्टिक जन्य बस्तुले सिंगो वातावरणलाई प्रकिकूल असर पार्छ । एकै छिनको प्रयोगले सिंगो मानव स्वास्थ्य र वातावरण नै विगार्ने प्लाष्टिक जन्य पदार्थको प्रयोगमा रोक लगाउनु आवश्यक ठानेर नगरपालिकाले अभियान चलाएको नगरका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो ।
पछिल्लो समय जनसंख्याको तीव्र विकास संगै शहरीकरण र बजारीकरण बढ्दो छ । बजारमा उत्पादित हरेक बस्तुहरु प्लाष्टिक जन्य पदार्थमै राखिएर उत्पादन हुने गरेका छन । मानव स्वास्थ्यमा दिनप्रतिदिन विभिन्न रोगहरुको संक्रमण बढिरहेको छ । वातावरण ह्रास पनि दिनप्रतिदिन भैरहेको छ । फोहोरजन्य पदार्थ संकलन गर्न डम्पिङ साइट बनाइए पनि प्लाष्टिक जन्य पदार्थको व्यवस्थापनमा चुनौती नै थपिएको छ । यस्तो बेलामा सबै सचेत बनी बुद्धभूमि नगरपालिकाले सुरु गरेको प्लाष्टिक जन्य पदार्थको प्रयोगमा रोक लगाउने अभियानमा साथ दिनुपर्नेमा सरोकारवालाको जोड छ । जिल्लामै पहिलो पटक यो अभियानको सुरुवात बुद्धभूमि नगरपालिकाले गरेको हो । अरु नगरपालिकाले पनि यसको सिको गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५ आइतबार ००:००  १ : २१ बजे