२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

भेनेजुएलाका सीमावर्ती क्षेत्रमा हिंसात्मक झडप, जले सहायता सामग्री



एजेन्सी ।
भेनेजुएलाका सीमावर्ती क्षेत्रमा हिंसात्मक झडप भएका छन् । राष्ट्रपति निकोलश मादुरोले मानवीय सहायता सामग्री प्रवेशमा रोक लगाउन ब्राजिलसँगको सीमा बन्द गरेको तथा कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि हिंसा सुरु भएको हो ।

देशभरका सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबिच झडप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सरकार विरोधी प्रदर्शनको नेतृत्व गरिरहेका र गएको जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका विपक्षी नेता क्आन गुएडोका समर्थकले कोलम्बिया तथा ब्राजिलका सीमा क्षेत्रबाट अमेरिकासहितका देशबाट आएका मानवीय सहायता सामग्री ल्याउने प्रयास गरिरहेका छन् ।

यहि क्रममा झडप भएको हो । मुख्यतः देशको सेनाले अहिलेसम्म राष्ट्रपति मादुरोलाई साथ दिँदै आएको छ । तर केही सीमा क्षेत्रमा रहेका सुरक्षाबलका सदस्यले आफ्नो पोस्ट छाडेर विपक्षीलाई साथ दिएको खबर पनि आएको बिबिसीले उल्लेख गरेको छ । निकोलश मादुरोले देशका सीमा आंशिक रुपमा बन्द गरेका छन् । उनी देशमा सहायता सामग्री नभित्रियोस् भन्ने चाहन्छन् ।

विदेशबाट भेनेजुएलाका आएको सहायता सामग्री जुटाउनमा विपक्षी नेता गुएडोको भूमिका छन् । उनले आफ्ना नागरिकलाई सहयोगको खाँचो रहेको भन्दै सहयोगका लागि अपिल गरेका थिए र अमेरिकासहितका देशले सहायता सामग्री सीमावर्ती क्षेत्रमा लगेका छन् । यसमा खाद्यान्न, औषधिसहितका सामग्री छन् । विपक्षी समर्थकहरु यी सामग्री देश भित्र्याउन प्रयासरत छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५ आइतबार ००:००  ६ : ४१ बजे