४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

बौलाह कुकुरले टोकेर दुहुना गाई मरे



झापा ।

भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् ।

वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा सबैभन्दा बढी चौपाय मरेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्टाराईले बताउनुभयो । अहिले रेविजविरुद्धको खोप वडा नं ३ सूर्यनगर र मङ्गलबारे क्षेत्रका पशु तथा मानिसलाई मर्नबाट बचाउनका लागि लगाइरहेको प्राविधिक भट्टाराईले बताउनुभयो । आइतबार मात्र यो क्षेत्रमा मानिस र चौपायलाई गरी १४ वटा रेबिज विरुद्धको खोप लगाइएको छ ।

उहाँले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा पशुपति ढुङ्गानाले निःशुल्क खोप उपलब्ध गराउनुभएको बताउनुभयो । कुनै पनि जनावर मार्न नपाइने अन्तर्रा्ष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन भद्रपुर नगरपालिकाले प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आएको छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सडकमा हिँड्ने कुकुरको बन्ध्याकरण गरी सङ्ख्या घटाए पनि घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप नलागाई पाल्ने हुँदा यस्तो समस्या आएको बताउनुभयो । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७५ सोमबार ००:००  २ : ३२ बजे