२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

मगर समुदायले ३७ औँ स्थापना दिवस मनाउँदै



मायादेवी अनलाइन, कपिलवस्तु ।

नेपाल मगर संघ प्रदेश ५ ले आफ्नो स्थापना दिवस फागुन १५ गतेलाई भव्यताका साथ मनाउने भएको छ । संघको ३७ औँ स्थापना दिवसलाई राष्ट्रिय एकताको दिवसको रुपमा बुधबार बिभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी भएको मंगलबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ ।

बौद्ध गुम्बा बाणगंगा ८ बोर्डगाउँमा पत्रकार सम्मेलन गरी बुधबार प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख आतिथ्यमा कपिलवस्तुको बाल मावि बैरिया र दाङमा विशेष कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । विहान ११ बजे बाल मावि बैरियामा हुने कार्यक्रमलाई सबेधन गरेर मन्त्री बराल दाङ जानु हुनेछ ।

यस्तै कार्यक्रममा प्रदेश सदस्य बीर बहादुर राना र रमा घर्ती मगर लगायत यस क्षेत्रका मगर अगुवाहरुको सहभागिता रहने आयोजक नेपाल मगर विद्यार्थी संघ कपिलवस्तुका अध्यक्ष सुमन थापा मगरले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि नेपाल मगर संघ प्रदेश ५ का अध्यक्ष विमल शारु मगरले प्रदेश भरी नै भोली कार्यक्रम गर्न सबै ६ जिल्लालाई सर्कुलर गरिएको जानकारी दिनुभयो । नेपाललाई गणतन्त्रसम्म ल्याउनको लागि आदिबासी जनजाती र विशेषगरी मगर समुदायको महत्वपूर्ण भूमिका रहे पनि संविधानमा विभेद गरिएको भन्दै अहिले पनि आन्दोलनकै रुपमा दिवस मनाउन लागिएको मगर समुदायको भनाई छ ।

प्रदेश ५ मा सबैभन्दा धेरै जनघनत्व मगर  र थारु समुदायकोे रहेका कारण भोलीको कार्यक्रमबाट प्रदेश ५ को नामाकरण मगरात थरुहट राख्न जोडदार माग गर्ने अध्यक्ष शारुले बताउनुभयो । अझै पनि संविधानले मगर समुदायलाई विभेद गरेको भन्दै यसको लागि अब आन्दोलनकै रुपमा मगर समुदाय जुट्नु पर्नेमा मगर अगुवाहरुले जोड दिएका छन् ।

बुधबारको कार्यक्रम पूर्व विहान ४ नम्बर चोकबाट पञ्चेबाजा र मगर भेषभूषासहितको सांस्कृति झाँकी निकालिने जनाइएको छ । मगर समुदाय र नेपाली भेषभूषासहित भोली र्याली निकालिने छ ।

र्यालीले चार नम्बर चोक परिक्रमा गरी बालमाविमा पुगेर समापन हुने छ । सचिव राजेश थापा मगरको संचालनमा सम्पन्न कार्यक्रममा मगर संघ प्रदेश सदस्य लक्ष्मी शारु, जिल्ला सदस्य मोहन सिंजाली, बाणगंगाा नगर अध्यक्ष पिताम्बर सिंजाली लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५ बुधबार ००:००  २ : ३५ बजे