२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

आज राष्ट्रिय शोकको घोषणा, सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय



काठमाडौँ ।
सरकारले आज एक दिनलाई राष्ट्रिय शोकको घोषणा गरेको छ । ताप्लेजुङमा हिजो हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
मन्तिपरिषद् बैठकले आज सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा आज राष्ट्रिय झन्डा आधा झुकाइने छ । मन्त्रि अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णय गरिएको छ ।
उक्त अकल्पनीय, अप्रत्यासित र दुस्खद घटनाबाट राष्ट्रलाई अपुरणय क्षति पुगेको ठहर गरिएको छ । यस घडीमा गहिरो दुस्ख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सरकारले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछ, मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
मन्त्री अधिकारी सहित ७ जनाको शव बिहीबार सबै शव सङ्कलन गरिसकेपछि काठमाडाँै लगिने बताइएको छ ।
यसैबीच मन्त्रिपरिषद् बैठकले ताप्लेजुङमा हिजो भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।
दुर्घटनाको जाँचबुझ गरी सुझावसहितको प्रदिवेदन पेश गर्ने गरी नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन भएको हो । समिति सदस्यमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहनुभएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५ बिहिबार ००:००  १२ : १५ बजे