२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

शेर्पाको शोकमा आज यति र तारा एयरका सबै उडान रद्द



मायादेवी अनलाइन, काठमाण्डौँ ।
ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका यति र तारा एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको शोकमा शुक्रबार सबै उडान रद्द गर्ने निर्णय गरेको छ। शेर्पाको सम्मानमा एक दिनका लागि यति र तारा एयरका सबै उडान रद्द गर्ने निर्णय गरिएको यति एयरलाइन्सका सञ्चार अधिकृत तथा वरिष्ठ प्रबन्धक भीमराज राईले जानकारी दिनुभयो ।
नेपाली हवाई उड्डयनको अग्रणी वायुसेवा कम्पनी तारा र यतिका दैनिक करिब ६० उडान छन्। सबै उडान एक दिनका लागि बन्द गर्ने र एयरलाइन्सकै सञ्चालक शेर्पाको सम्मान गरिने हुँदा यात्रुलाई परेको असुविधालाई क्षमा दिन तारा र यति दुवैको वायुसेवाले अनुरोध गरेका छन्।
नेपालको हवाई उड्डयनमा दुर्गम क्षेत्रमा योगदान पुर्याउने वायुसेवाको नामले परिचित शेर्पाको तारा एयरसँग ६ वटा जहाज छन्। यसमध्ये चारवटा १९ सिट क्षमताका ट्विनअटर र दुईवटा १८ सिट क्षमताका डोर्नियर छन्। यो वायुसेवाबाट दैनिक काठमाडौं लुक्ला १०, पोखरा–जोमसोम पाँच र नेपालगन्जबाट हुम्ला डोल्पा, सुर्खेतहितका कर्णाली क्षेत्रका विमानस्थलमा १५ वटा उडान हुने गरेका छन्।
आन्तरिक उडानमा सुगम क्षेत्रका विमानस्थल उडान गर्ने यति एयरलाइन्सका पनि दैनिक करिब २८ देखि ३० वटा उडान हुने गरेका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०७५ शुक्रबार ००:००  १ : ४७ बजे