२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

सरकारी चिकित्सकहरुको आन्दोलन स्थगित



काठमाडौं ।
कर्मचारी समायोजनका केही बुँदामा असहमति जनाउँदै एक हप्ताअघि आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ (गोदान)ले आफ्नो सबै आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गोदानका पदाधिकारीबीच शनिबार भएको वार्तापछि चिकित्सकहरुले आन्दोलन स्थगित गर्ने बताएका हुन् ।
दुवै पक्षबीच करिब एक घण्टा लामो औपचारिक वार्ता भएको थियो। सरकारले चिकित्सकहरुको माग पूरा गर्ने आश्वासन दिएकोले आन्दोलन स्थगित गरिएको उनीहरुले बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठाएको माग सम्बोधन गरी पहल गर्ने आश्वासन दिएपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले बताउनुभयो ।
‘प्रधानमन्त्री के.पी शर्मा ओलीज्यूले यथाशीघ्र माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो र हामीहरुले पनि जनताको स्वास्थ्यको चिन्ता गर्नुपर्यो’, पाण्डेले भने, ‘सधैं बन्द गरेर कसरी हुन्छ?’
शनिबारको वार्तामा भएको छलफलअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बैठक बसेर संयुक्त समिति गठन गरी समस्याहरुबारे छलफल भएको उहाको भनाइ छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  ९ : २५ बजे