२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

कश्मीरमा तनावः ६ भारतीय फौजसहित आठजना मारिए



श्रीनगर ।
भारत-पाकिस्तान तनाव चुलिइरहेका बेला जम्मु-कश्मीरको कुपवाडा जिल्लास्थित हन्दवाडामा आइतवार बिहानसम्ममा ६ जना सुरक्षाकर्मी र दुई चरमपन्थीको ज्यान गएको छ ।
आइतवार बिहानै भएको भिडन्तमा दुईजना चरमपन्थी मारिएको जानकारी भारतीय सञ्चारमाध्यमले दिएका छन् । यहाँ तीन दिनदेखि मुठभेड चलिरहेको छ ।
यसैबीच तीन दिनअघि भएको मुठभेडमा घाइते भएका भारतीय केन्द्रीय रिजर्भ फोर्सका एक जवानले शनिबार ज्यान गुमाएका छन् । यससँगै यो मुठभेडमा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । ज्यान गुमाउनेमा सीआरपीएफका चार जवान र जम्मु-कश्मीर पुलिसका दुई जवान रहेका छन् ।
भारतीय सुरक्षाकर्मीले हन्दवाडामा क्रालगुडस्थित बाबा गुँड इलाकामा बिहीबार रातिदेखि चरमपन्थीविरुद्ध अप्रेशन थालेको थियो । त्यसपछि भिडन्त सुरु भएको हो । चरमपन्थी लुकेको भनिएको घरमा भारतीय सुरक्षाकर्मीले बम हानेपछि जीवितै रहेका एकजनाले गोली बर्साएका थिए । त्यसक्रममा १० जन जवान घाइते भएका थिए ।
त्यसपछि भारतले भिडन्त भएको क्षेत्रमा मोबाइल इन्टरनेट सेवा पुरै बन्द गरिदिएको छ। भारतीय पक्षले जम्मु-कश्मीरमा नियन्त्रण रेखातर्फ पाकिस्तानले लगातार युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। शनिबार राति पनि सिमानामा दुवै पक्षबीच गोलाबारी भएको बताइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५ आइतबार ००:००  १० : ०६ बजे