२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

पश्चिमी वायु अझै सक्रिय, मंगलबारसम्म पानी पर्ने



काठमाडौं ।
पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी सूचना निकालेर सोमबार राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बद्ली रही पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो । सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ ।
प्रिःमनसुन शुरु भएको र पश्चिमी वायु कमजोर बन्दै गएकाले ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार सोमबार मौसममा सामान्य सुधार आएपनि मङ्गलबार पश्चिमी वायुको प्रभाव बढी पर्ने देखिएको छ ।
बुधबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार देशका अधिकांश स्थानमा हल्का वर्षा भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ३ : ०९ बजे