२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

अमेरिकामा शक्तिशाली तुफान, २३ जनाभन्दा बढीको मृत्यु



एजेन्सी ।
शक्तिशाली तुफान (टोर्नाडो)का कारण अमेरिकामा कम्तीमा २३ जनाको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । सोमबार बिहान संयुक्त राज्य अमेरिकाको अलाबामा राज्यमा पर्ने ली काउन्टीमा टोर्नाडोका कारण केही बालबालिकासहित कम्तीमा २३ जनाको ज्यान गएको र सङ्ख्या अझै बढ्न सक्ने बीबीसीले बताएको छ ।
कयौँ घर तथा भवन भत्किएका छन् । अहिले अधिकारीहरुले त्यो क्षेत्रमा जान निषेध गरेका छन् । त्यहाँका राष्ट्रिय मौसम विभागले बताए अनुसार टोर्नाडो करिब एक किलोमिटर फराकिलो बाटो बनाउँदै १ सय ६५ माइल प्रति घण्टाको रफ्तारमा चलेको थियो ।
अधिकारीहरुले बताए अनुसार घाइतेहरुको पहिचान भइरहेको छ । ली कन्टीका स्थानीयले अहिलेसम्मकै शक्तिशाली तुफान भएको बताएका छन् । उद्धारकहरु अहिले पनि कतिपय क्षेत्रमा उद्धारको लागि खटिरहेका छन् । अल्बामा मेडिकल केन्द्रले बताए अनुसार ४० जना घाइतेहरुको उपचार भइरहेको छ र अझै सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । टोर्नाडो पछि त्यहाँ एकदमै चिसो मौसम सुरु हुने र त्यसले त्यहाँका पानीका स्रोतहरु पनि जम्ने बताइएको छ ।
राष्ट्रिय मौसम निकायले निकै शक्तिशाली आँधीले अलाबामा करिब एक किलोमिटरको क्षेत्रमा व्यापक क्षति गर्न सक्ने पूर्वानुमान गरेको थियो ।आइतबार अपराह्न आँधी आएलगत्तै आपतकालीन उद्धारकर्मीहरु खोज तथा उद्धारका लागि परिचालन गरिएका थिए । उक्त आँधी जर्जिया, दक्षिण क्यारोलिना र फ्लोरिडा राज्यतर्फ पनि फैलिएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७५ सोमबार ००:००  ७ : १२ बजे