५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

रौतहटको गरुडमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डको सम्बोधन, कस्ले के भने ?



रौतहट ।
प्रधानमन्त्री एवं नेपाल कम्यिनस्ट पार्टीनेकपा अध्यक्ष केपी शर्मा ओलीले अब मधेसमा विकासको राजनीति सुरु भएको बताएका छन्। रौतहटको गरुडमा आयोजित नेकपाको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको नेतृत्व भएकाले अबको राजनीति विकासको राजनीति हुने बताएका हुन्। उनले तराई मधेशमा पृथकतावादी अभियान चलाउँदै आएको व्यक्तिले समेत संविधान मानेर राज्यको मूल धारमा आएर राष्ट्रको अखण्डताको रक्षा गर्नेका लागि तयार भएकाले तराईमा विकास नहुनेमा शंका नगर्न आग्रह गरे। प्रधानमन्त्री ओलीले जनताको भोटलाई उच्च कदर गर्दै देशमा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने बताए।

उनले भने यो सरकारले जनताको भोटलाई ख्यालख्यालको रूपमा लिँदैन। भ्रष्टारचार हुन नदिने र सुशासन हुने दिने यो सरकारको काम हो। वर्तमान सरकार कसैप्रति आग्रह र पूर्वाग्रह नराख्ने जनताको प्रतिनिधि भएकाले जनताको आकांक्षा पूरा गर्नमा कुनै कसर नछोड्ने उनको भनाइ थियो। उनले नेपालमा सम्प्रदाय, जातजाति र भूगोलको राजनीति गर्ने समय सकिएको भन्दै साझा समस्याको रूपमा रहेको गरिबीको अन्त्य गर्दै विकासको बाटोमा हिँड्ने दिन आएको बताए। उनले भने, अब सम्प्रदाय, जातजाति र भूगोलको राजनीति गर्ने समय गयो।

सबैको साझा समस्या व्याप्त गरिबी निवारण र विकासको बाटोमा हिँड्ने समय हो। प्रधानमन्त्री ओलीले दुई पार्टी बीचको एकता सुनिएर मोटाउनका लागि नभए देशमा नमुना विकास गरेर देखाउनका लागि भएको बताए। केन्द्रमा एकता सकिएको र तल्ला तहमा पनि एकता छिटै पूरा हुने उनको भनाइ थियो। हामीले पार्टी एकता गरेको सुनिएर मोटाए जस्तो देखिन होइन। देशको नमुना विकास गरेर देखाउन हो। एकताका बाँकी काम छिट्टै पूरा गर्दैछौँ उनले भने, केन्द्रमा मिलि सक्यौँ। अब तल्ला तहमा एकता हुँदैन भन्न नसोचे हुन्छ। उनले राष्ट्रिय जनता पार्टी नेपाललगायत मधेसी दललाई इंगित गर्दै झुक्याएर केही मत बढी ल्याउँदैमा फूर्तीफार्त नदेखाउन आग्रह गरे।

अर्को पटक प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्नेमा दुई मत नरहेको उनको भनाइ थियो। त्यस्तै, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा २००६ देखि २०७३ सम्म तराई मधेसका जनताको भूमिका महत्वपूर्ण रहेको बताए। परिवर्तनमा यहाँका जनताले खेलेको भूमिकालाई पहाड र हिमालका जनताले प्रशंसामात्रै नगरेर ऊर्जाका रूपमा ग्रहण गरेको बताए। उनले प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्ने तर अस्तिरता ल्याउन नचाहेकाले त्यसो नगरेको समेत बताए। प्रदेश २ मा हामी सरकार बनाउन सक्छौँ। तर, अहिले नै हामीले अस्तारिता ल्याउन चाहदैनौँु उनले भने, यसलाई मधेशवादी दलले काम गर्न अवसर दिएको सोच्नु पर्दछ।उनले जनतालाई भ्रममा पारेर अल्ली बढी मत ल्याउँदैमा नेकपालाई सिद्धायौँ भनेर नफुर्किन आग्रह गरे। उनले आगामी निर्वाचनमा ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी बन्ने दाबीसमेत गरे। कार्यक्रमलाई नेकपाका नेता माधव कुमार नेपालले पनि सम्बोधन गरेका थिए।

प्रकाशित मिति : २५ फाल्गुन २०७५ शनिबार ००:००  १२ : ०१ बजे