५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

प्रधानमन्त्री ओलीले चन्द्रकान्त (सिके) राउतलाई मन्त्री बनाउँदै



काठमाडौं ।
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके (चन्द्रकान्त) राउतलाई मन्त्री बनाउने गरी गोप्य सहमति भएको छ ।
राजनीतिक सहमति गरेका राउतलाई अहिले राजनैतिक सेटलमेन्ट गराएर विस्तारै मन्त्रीसम्म बनाउने गरी सरकारसँगगोप्य राजनैतिक सहमति भएको सरकारनिकट श्रोतले दाबी गरेको छ । त्यसको लागि पहिले उनलाई राष्ट्रियसभा सदस्य बनाइने छ । सिके राउतले पार्टीमा आफ्नो हिस्सा खोजेकाले उनलाई एक बर्षभित्र राष्ट्रियसभा सदस्य बनाउने र आवश्यक परे मन्त्रीसम्म बनाउने निष्कर्षमा प्रधानमन्त्री केपी ओली पुगेको पनि प्रधानमन्त्री निकट श्रोतले जनाएको छ ।  ‘राउतलाई यसअघि पनि राष्ट्रियसभामा लैजाने प्रयास भएको थियो । त्यो बेला सम्भवः भएन । अब राजनीतिक सहमति भएपछि उहाँलाई राष्ट्रियसभा सदस्य बनाउने बाटो खुलेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘अबको एक वर्षपछि राउत राष्ट्रियसभा सदस्यको रुपमा आउनु हुनेछ । आवश्यक परे मन्त्री पनि बनाइने छ । त्यसपछि उहाँले देश विकासका लागि योगदान गर्नु हुनेछ ।’
राउत नासाका वैज्ञानिकसमेत भएकाले मुलुकको विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने गरी मन्त्री बनाउने गरी प्रधानमन्त्रीले राउतलाई प्रस्ताव गर्नुभएको श्रोतको भनाई छ । सरकारले ‘डिजिटल नेपाल’ कार्यक्रम वा ‘स्याटलाइट’ प्रविधिमा विज्ञको रुपमा काम गर्न तत्कालको लागि राउतलाई आग्रह गरेको र विस्तारै त्यही प्रकारको मन्त्रालयको जिम्मा दिइने छ । प्रधानमन्त्रीको यो प्रस्तावलाई मौन समर्थन गर्दै राउतले त्यसको लागि आफूलाई ‘पोलिटिकल पोजिसन’ दिनुपर्ने बताएका छन् । त्यसपछि सरकारले उनलाई त्यो स्थान सम्म पुग्नको लागि पहिले राष्ट्रियसभा सदस्य बनाएर बाटो खुला गर्न लागेको प्रधानमन्त्रीनिकट श्रोतको दाबी छ ।
राउतले पनि ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारालाई साथ दिन आफू तयार रहेको प्रतिबद्धतासमेत जनाएका छन् । राउतलाई समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनाउन बन्द सूचीका कारण समस्या भएको र प्रदेशसभा सदस्य बनाउन पनि तत्काल सम्भवः नभएकाले ‘पोलिटिकल स्पेस’ का लागि सबैभन्दा उत्तम विकल्प राष्ट्रियसभा सदस्य बनाउनुपर्ने निष्कर्ष प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारले निकालेको छ । राष्ट्रियसभामा एक वर्षपछि २ वर्षे कार्यकाल भएका झन्डै एक चौथाइ अर्थात् १९ जना सांसदको अवधि सकिँदैछ । तिनै रिक्त पदमध्ये एकमा राउतलाई लैजाने तयारी छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  ५ : ०८ बजे