५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

सिके राउतसँग मलाई तुलना नगरेको भए हुन्थ्योः प्रचण्ड



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतसँग तुलना गरेको प्रसंगलाई लिएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन्।

पोखरामा आज पत्रकारसँगको कुराकानीमा उनले ुसबै तुलनाहरु लंगडा हुनेु भन्दै प्रधानमन्त्री ओलीले आफ्नो तुलना सिके राउतसँग नगरेको भए पनि राम्रो हुने बताए। राउतसँगको तुलना योजनाबद्ध, सोचेर वा बनाएर नबोलेको प्रचण्डको भनाइ थियो। प्रधानमन्त्री ओलीले यसअघि पनि तराईमा बोल्दा आफूलाई असाधारण निर्णय क्षमता भएको व्यक्तिको रुपमा चित्रण गरेको दाहालले स्मरण गरे।

‘अस्तिको दिनमा मूलधारमा आउने निर्णयको सन्दर्भलाई लिएर मतिर हेरेरै भनिहाल्नुभयो। अब, नभन्या भए पनि हुन्थ्यो भन्ने एउटा कुरा हो,’ अध्यक्ष दाहालले भने, ‘किनभने तुलनाहरु सबै लंगडो हुन्छन् क्या। तुलना चाँहि ठ्याक्कै भन्ने हुँदैन। त्यो तुलना नगर्दा पनि हुन्थ्यो। तर, गरेर पनि केही ठूलो बिग्रेको जस्तो मलाई लागेको छैन।’

सरकार र राउतबीच भएको सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले राउत पनि प्रचण्ड जत्तिकै असाधारण र क्षमतावान् व्यक्ति रहेको भन्दै तुलना गरेका थिए।

तराईमा पृथकतावादी अभियान चलाइरहेका सिके राउतसँगको सम्झौतालाई लिएर मिडियामा भएको चर्चा(परिचर्चा जस्तो अहिलेको स्थिति नभएको पनि दाहालको भनाइ छ। संविधानको मर्म र भावनाअनुसार नै मूलधारको राजनीतिमा आउने स्पिरिटमा राउतसँग सहमति भएको अध्यक्ष दाहालले स्पष्ट पारे।

भर्खरे जेलबाट छुटेको र सहमति हुनेबित्तिकै मधेसतिर जाँदा आफ्नो समूहसँग छलफल गरेर मूलधारमा जाने तयारी नपुगिसकेका हुनाले जनकपुरका कतिपय प्रस्तुतिले प्रश्न उठेको दाहालले स्वीकार गरे। राउतले आफ्नो समूहलाई सरकारसँग गरेको सहमति बुझाउने समय र प्रक्रियाका कारण मात्रै यस्तो भएको उनको तर्क छ।

सरकारले राउतसँग गरेको सहमति र त्यसको उद्देश्यमाथि शंका गर्न आवश्यक नभएको भन्दै उनले आउँदा दिनमा सरकारले गरेको सहमतिविपरीत गयो भने के गर्ने, निर्णय गर्ने अधिकार पनि सरकारसँग सुरक्षित रहेको बताए।
दाहालले जनमत संग्रहबारे कहीँकतै उल्लेख नभएको र संसदमै गृहमन्त्रीले स्पष्ट पारिसकेकाले आशंका गर्नुपर्ने अवस्था नभएको उल्लेख गरे।

प्रकाशित मिति : २७ फाल्गुन २०७५ सोमबार ००:००  ८ : ३४ बजे