१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आह्वान



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका छन्।काठमाडौंमा शुक्रबार सुरु लगानी सम्मेलनको बिहान आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताहरूलाई यस्तो आह्वान गरेका हुन्।प्रधानमन्त्री ओलीले भने, ‘बुद्ध र सगरमाथाको देशमा ठूला लगानीको लागि स्वागत छ, सरकारले लगानीको सुरक्षा दिन्छ।’

एक वर्षअघि आफूले राराबाट सम्बोधन गर्दै नेपाल अब विकासको बाटोमा अघि बढ्छ भनेको र त्यसैअनुसार अब देश अघि बढ्ने प्रधानमन्त्री ओलीले बताए। उनले भने, ‘देशमा निर्वाचित सरकार छ, हामी विकास र लगानीको सुरक्षामा कुनै कम्पर्माइज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस्।’आर्थिक विकासबिना राजनीतिक सुधारले मात्र महत्व नराख्ने भन्दै प्रधानमन्त्री ओलीले लगानीकर्तालाई झन्झट नहुने गरी कानुन सुधार गरिएको जानकारी पनि दिए।यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरूलाई आह्वान गरे।

नेपालको विकासका लागि विदेशी लगानी आवश्यक रहेको बताउँदै उनले सरकारले लगानीको सुरक्षा दिने प्रतिवद्धता व्यक्त गरे।सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झन्डै एक हजार लगानीकर्ता सहभागी छन्। तीमध्ये ४० देशबाटमात्रै ६ सयभन्दा बढी लगानीकर्ता छन् ।
सम्मेलनमा लगानीका लागि निजी क्षेत्रका तर्फबाट २७ समेत गरी सरकारले ७७ परियोजना प्रस्ताव गर्दैछ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  ७ : ४६ बजे