७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दाङमा नक्कली पत्रकार बनेर ठगी र बलात्कार गर्ने एक जना पक्राउ



दाङ ।

दाङमा पत्रकारको नाममा ठगी गर्ने र जबरजस्ती करणी अभियोग लागेका एक व्यक्ति पक्राउ परेका छन् । लाखौ रुपैयाँ ठगी र जबरजस्तीकरणी अभियोगमा पक्राउ परेका घोराही उपमहानगरपालिका वडा नम्बर ११ बेलगनारका महेश भनिने भुवन धिताललाई जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको हो ।
धिताललाई ठगी र जवरजस्तीकरणी गरेको पिडितहरुको जाहेरीका आधारमा विभिन्न कागजात सहित पक्राउ गरिएको हो । ५ जना पिडितहरुको सामुहिक जाहेरी र जवरजस्ती करणीमा ३ जना महिलाबाट छुट्टा छुट्टै निबेदन परेपछि प्रहरीले धिताललाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका धितालको साथबाट ८२ थान चेक, १ करोड ६९ लाखको चेक रकम, २ वटा खाली चेक, ३२ वटा तमसुक, १ करोड २४ लाखको तमसुक रकम, ४ वटा ढुकुटी खेलाएको रजिष्टर बरामद गरेको प्रहरीको भनाइ छ ।

त्यसैगरी, ४ वटा खाली तमसुक, एक थान जलजला अनलाईनको पत्रकार परिचय पत्र, २ थान मोवाईल, १८ हजार ५ सय नगद, २ वटा सुनको औठी, १ थान ब्रासलेट, एक थान घडि सहित बा १५ च ७६६८ नम्बरको फोर्ड गाडी र भे ८ प ३९५५ नम्बरको होण्डा स्कुटीसमेत बरामद गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका धितालले शैक्षिक स्तर कमजोर भएका, एकल, श्रीमान विदेश गएका महिला समुहमा बसेर पैसा उठाउने र लगानी र्गयो भने राम्रो कमाई हुन्छ भनि सुरुमा ढुकुटी खेलाउदै व्यक्ति ठगिमा अग्रसर भएको प्रहरी अनुसन्धानले देखिएको छ ।

साथै आफु पत्रकार भएको, प्रहरीका हाकिमहरु सँग राम्रो सम्बन्ध भएको, वेज्जत गर्न सक्छु भन्ने, पत्रपत्रिकामा छपाइदिन्छु भनि डर देखाएर ३६ प्रतिशत सम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न बहानामा यौन शोषण समेत गरेको प्रहरीमा उजुरी परेको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

पक्राउ परेका धिताललाई दाङबाट भाग्ने क्रममा दाङ र बाँकेको सिमानाबाट पक्राउ गरिएको प्रहरीको भनाई छ। प्रहरीले धिताल माथी अनुसन्धान गर्न दाङ देउखुरी जिल्ला अदालतबाट ५ दिनेमा म्याद थप गरेको जनाएको छ भने थप अनुसन्धानका लागि सम्पत्ती शुद्धिकरण बिभागलाई समेत पठाउने जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५ शुक्रबार ००:००  १२ : ०० बजे