५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पत्रकार अर्जुन गिरी रिहा



काठमाण्डौ ।
पोखराका पत्रकार अर्जुन गिरी काठमाण्डौ जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले पत्रकार गिरीलाई रिहा गर्ने निर्णय गरेको हो ।

पोखराबाट प्रकाशित हुने ताण्डव साप्ताहिक तथा ताण्डव न्यूज डट कमका सम्पादक अर्जुन गिरीलाई व्यवसायी विपेन्द्रराज बतासका बारेमा समाचार लेखेको आरोपमा पक्राउ गरिएको थियो । उनलाई साइबर क्राइमअन्तर्गत पक्राउ गरिएको बताइएको थियो ।

तर एकजना व्यापारीको ठगीका बारेमा समाचार लेखेकै भरमा गिरीलाई पक्राउ गरिएको भन्दै नेपाल पत्रकार महासंघको नेतृत्वमा देशैभर उनको रिहाइको माग गर्दै प्रदर्शन भएको थियो ।

पत्रकार महासंघले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई भेटेर समाचार लेखेकै कारण साइबर क्राइम मुद्दामा पत्रकार पक्राउ परेको घटनाप्रति खेद व्यक्त गरेको थियो ।

पत्रकारहरुसँगको भेटमा मन्त्री बाँस्कोटाले गिरी पक्राउ प्रकरण निकै दुःखद भएको बताउनु भएको थियो । प्राविधिक कमजोरीका कारण गिरी पक्राउ परेको बताउँदै मन्त्री बाँस्कोटाले आयन्दा यस्तो घटना नदोहोरिने बताउनुभयो ।

प्रकाशित मिति : ५ बैशाख २०७६ बिहिबार ००:००  ११ : २९ बजे