५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

श्रीलङ्का आक्रमणः ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो



एजेन्सी ।
श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघरमा गत आइतबार भएको शृङ्खलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३ सय ५९ जना पुगेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भारत, अमेरिका, बेलायत र जापान समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटबाट झण्डै ५ सय व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।
राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमा समेत शक्तिशाली विस्फोट भएको थियो ।
विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तर्रा्ष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  ३ : २२ बजे