५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

युवामैत्री बजेट बनाउन आयोनको माग



काठमाडौं ।
नेपाल युवा संस्था सञ्जाल आयोनले युवामैत्री बजेट बनाउन सरकारसंग माग गरेको छ । समयसापेक्ष योजना बनाइ युवा नीति कार्यान्वयनका लागि आयोनले माग गरेको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा मार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै देशभरीका युवा संस्थाहरुको छाता संस्था आयोनले युवाका क्षेत्रमा बजेट बढाउन समेत माग गरेको छ । “चालु आर्थिक वर्षमा युवाका लागि छुट्याइएको बजेट एक प्रतिशत पनि नरहेको ” भन्दै आयोनका अध्यक्ष जगदीश ऐरले भने “४० प्रतिशत जनसंख्या भएको युवा क्षेत्रलाई उपेक्षा गरे सम्बृद्धि हुन नसक्ने उहाँको ठहर छ । आगामी बजेटको कम्तिमा १० प्रतिशत युवा क्षेत्रका लागि छुट्याउन ज्ञापनपत्र मार्फत् आग्रह गरेका छौं ।’
सामाजिक उद्यमशीलतामा युवा सहभागीता बढाउन आगामी बजेटमा हौसलापूर्ण कार्यक्रम ल्याउन पनि आयोनले माग गरेको छ । युवाहरुको अनुभव आदानप्रदान गर्न बिभिन्न देशहरुमा नेपालका तर्फबाट हुने भ्रमण रोकिएको प्रति पनि आयोनले आपत्ती जनाएको छ । राष्ट्रिय युवा परिषद् ऐन संशोधन मस्यौदा मन्त्रालयमा अड्किएकोमा मन्त्रीको ध्यानाकर्षण गर्दै आयोनले तत्काल प्रक्रियामा लैजान आग्रह समेत गरेको छ ।
यसैगरी दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि आवश्यक निर्देशिका तयार गरी संघीय संरचना अनुरुप स्थानीयकरण गर्न बिज्ञप्तीमा माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै मन्त्री विश्वकर्माले आयोनले उठाएका विषयलाई आफ्नो मन्त्रालयले गम्भीर रुपमा लिएको र सो को लागि आबश्यक पहल गर्ने जनाउनु भएको छ । संघीय संरचना अनुसार देशका सात वटै प्रदेशमा आयोनले युवाजन्य सवाल र मुद्दाहरुमा वकालत, अभियान संचालन गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६ बिहिबार ००:००  १० : २५ बजे