१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

माइतीघर मण्डला घटनाको नैतिक जिम्मेवारी सरकारले लिन्छः गृहमन्त्री थापा



काठमाण्डौ ।
गृहमन्त्री रामबहादुर थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताउनुभएको हो ।
उहाँले गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघर मण्डलामा केही संस्था, समिति, सम्पदा बचाउ अभियानलगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताउनुभयो ।
प्रहरीले सार्वजनिक सवारी साधन आवागमनमा अवरोध नगर्न गरेको आग्रह अस्वीकार गरी प्रर्दशनकारीले यातायात अवरोध गर्ने काम जारी राखेकाले पानीको फोहराको अतिरिक्त प्रहरीले सामान्य बल प्रयोग गरेको दाबी मन्त्री थापाले गर्नुभयो । प्रर्दशनकारीको तर्फबाट पनि बल प्रयोग भएको र प्रहरीलाई ढुंगा प्रहार गर्ने काम गरेपछि त्यसलाई नियन्त्रण गर्ने काम भएको उहाँले स्पष्ट पार्नुभयो ।
सरकारले नागरिकको अधिकारलाई बरबर दमन र्गयो, कुण्ठित र्गयो भन्ने भनाइ गलत भएको भन्दै उहाँले शान्ति सुरक्षा कायम गरि सार्वजनिक यातायात सुचारु गर्नका लागि राज्यले आफ्नो दायित्व बहन गरेको सदनलाई जानकारी गराउनुभएको हो । उहाँले घटनाको सरकारले नैतिक जिम्मेवारी लिने र घटनाबारे छानबिन गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७६ मंगलबार ००:००  १ : २२ बजे