८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

संसद पुग्यो गलबन्दी विवाद, शम्भु राई र उनका सहयोगीमाथि साइबर क्राइम मुद्दा चलाउन माग



काठमाण्डौ ।
नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप लगाउनुभयो । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा उहाँले भन्नुभयो, ‘सरकार नै सामाजिक सद्भाव र जाति जातिका बीचमा र नागरिक नागरिक बीचमा नै द्वन्द्व गराउन चाहन्छ । उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ । यस्ता घटनामा संलग्न थुप्रै माननीयज्यूहरु संसदमा हुनुहुन्छ । तर आज म भन्न बाध्य छु चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाइएको छ । यही कुरा प्रकाश सपुत र शान्ति सिंह परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु । सरकारको गम्भीर ध्यानाकर्षण होस् ।’

‘गलबन्दी च्यातियो तिमिले तानेर’ भन्ने गीत गाउने गायक प्रकाश सपुत र शान्ति सिंह परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको भन्दै उहाँले त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भात्तृसंस्थामा आवद्ध शभ्भू राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसंग उल्ल्लेख गर्दे उहाँले गाउँघरमा मेलापात जाँदा स्वतःस्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्धा हाल्न पुग्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।

सांसद विश्वकर्माले भन्नुभयो, ‘शम्भू राई र उनका समर्थकले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति निच गाली गर्नुको साथै उनलाई हत्तोत्साहित गराउन लागि परेको देखिन्छ । त्यतिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरुमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन अन्तर्गत, जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।”

उहाँले प्रकाश सपुतविरुद्ध मुद्धा हाल्ने र सामाजिक सञ्जालमा गाली गलौच गर्नेहरुलाई कारबाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

केही समयअघि प्रकाश सपुतले ल्याएको गीत ‘गलबन्दी’ बोलको गीत र शम्भू राईको गीत ‘आउ नाचौँ साथी हो’ सँग मिल्न गएको भन्दै विवाद र चर्चा आज संसदसम्मै पुगेको हो ।

पूर्वेली गायक शम्भू राईले प्रकाश सपुतविरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिनु भएको छ । रजिष्ट्रार कार्यालयले सपुत र राईलाई मिल्नका लागि तीन दिनको समय दिएको छ ।

प्रकाशित मिति : ९ असार २०७६ सोमबार ००:००  ३ : १३ बजे