१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

सिद्धार्थ क्याम्पस बुङचीमा १ सय बढी विरुवा रोपियो, होला त संरक्षण ?



मायादेवी अनलाइन, कपिलवस्तु ।
सिद्धार्थ क्याम्पस बाणगंगा कपिवस्तुमा शनिबार वृक्षरोपण गरिएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा क्याम्पसको उत्तरतर्फ रहेको खेल मैदानमा अशोक र धुपीका एक सय बढी विरुवा रोपण गरिएको हो । कार्यक्रममा सहभागी भएर प्रदेश सांसद विष्णु पन्थी, नेकपाकी केन्द्रिय सदस्य बिमला घिमिरे, नेकपा कपिलवस्तुका संयोजक झविलाल पोख्रेल, नगर बाणगंगा नगर उपप्रमुख चक्र अर्याल लगायते विरुवा रोप्नु भएको थियो ।

वृक्षरोपण गर्दै प्रदेश सांसद विष्णु पन्थीले उत्पादनमूलक विरुवा रोप्नुपर्ने आवश्यकता औँल्याउनु भयो । सरकारले राष्ट्रिय वृक्षारोपण दिवस घोषणा मात्र गरेर नहुने भन्दै यसको लागि वृक्ष रोप्ने संस्कारमा पनि परिवर्तन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो– “वृक्षरोपण गरिएका विरुवाले ठुलो भएर फल दिन सक्नु पर्दछ । जनतालाई केही आय हुने गरी टेवा दिन सक्नुपर्दछ । यसको लागि फलफुल या उपयोगी काठ दाउरा आउने खालका विरुवा रोप्नु पर्दछ ।” अनुत्पादक विरुवा रोपेर वृक्षरोपण गरिने परम्पराले मुलुकलाई केही नदिने भन्दै सांसद पन्थीले आयआर्जनसंग जोडेर हरेक संघसंस्थाले वृक्षरोपण गर्नु आजको आवश्यकता भएको जिकिर गर्नुभयो ।

नेकपाकी केन्द्रिय सदस्य विमला घिमिरेले सरकारको अभियानको प्रसंसा गर्दै सबैलेसाथ दिनुपर्ने बताउनु भयो । रुख विरुवा तथा विनासले वातावरणीय असन्तुलन पैद्या भएको भन्दै उहाँले बातावरण सन्तुलन राख्न पनि हरेक क्षेत्रमा वृक्षरोपण गर्नुपर्ने आवशयकता औँल्याउनु भयो ।

नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले सरकारले सुरु गरेको अभियान एकदमै सराहनीय भएको भन्दै यसले वातावरण संरक्षणमा टेवा पुग्ने बताउनु भयो । क्याम्पसका अध्यक्ष समेत रहनुभएका पोख्रेलले पछिल्लो समय बोटविरुवा मासिने क्रम बढेकाले वातावरण सन्तुलन कायम राख्न क्याम्पसले जस्तै हरेक संघसंस्थाले वृक्षरोपण गर्नुपर्ने बताउनु भयो ।

क्याम्पस प्रमुख खेमराज शर्माले सरकारले चलाएको वृक्षरोपण अभियानलाई सफल बनाउनको लागि र क्याम्पस प्राङगणलाई हरियाली बनाउन कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रम क्याम्पस प्रमुख शर्माको समन्वय तथा फुलबारी ब्यवस्थापन समितिको क्रियाशिलतामा आयोजना भएको वृक्षरोपणमा नगर उपप्रमुख चक्र अर्याल, क्याम्पसका संस्थापक अध्यक्ष कृष्ण पौडेल,वर्तमान उपाध्यक्ष रवि बहादुर काफ्ले, पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, त्रिवी उप प्रध्यापक तथा पूव पूर्वप्राध्यापक खेमराज खनाल, संचारकमी, प्राध्यापकहरु तथा कर्मचारीहरुले विरुवा रोप्नु भएको थियो । यसैबीच कार्यक्रममा सहभागी भएकाहरुले रोपिएका विरुवाको संरक्षण गर्नु पर्ने बताएका छन् । सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको गरेअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान सुरु गरिएको हो । त्यसै अनुसार आज देशभर वृक्षरोपण कार्यक्रम सम्पन्न भएका छन् ।

प्रकाशित मिति : १४ असार २०७६ शनिबार ००:००  ३ : ५४ बजे