१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

आज असार १५, कपिलवस्तुसहित देशैभर वृहत रोपाई दिवस मनाईदै



मायादेवी अनलाइन, वाणगंगा ।

आज असार १५,  ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइँदैछ ।

नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । धान दिवसको अवसरमा कास्कीमा विशेष रोपाईं महोत्सव गर्ने गरिएको छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ ।

कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । गत वर्ष धान उत्पादन १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ ।

युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको विज्ञहरुले बताएका छन् ।

आइतबार कपिलवस्तुको चप्पर गाउँमा वृहत रोपाई दिवस मनाईदै छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान सुपर जोन बाणगंगाको आयोजनामा आज चप्पर गाउँमा वृहत रोपाई गरी धान दिवस मनाइन लागेको हो । यस्तै बुद्धभूमि नगरपालिकाले टाकुँ बक्टापुरमा पनि वृहत धान रोपाई गरेर असार १५ लाई बनाउदै छ । यस्तै जिल्लाका अन्य स्थानीय तहले पनि आज विशेष कार्यक्रम गरी धान दिवस मनाउदै छन् ।

असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै गर्दा रुपन्देहीका किसानको व्यथा बेग्लै छ । पर्याप्त पानी नपर्दा उनीहरुले राखेको धानको ब्याड खेतमै सुक्न थालेका छन् । खडेरीले खेतका गह्रामा धाँजा परेका छन् । रुपन्देहीमा असार पहिलो साता एक दिन दिनभर पानी परे पनि त्यसपछि भने पानी परेको छैन ।

मध्य असार लागि सक्दा रुपन्देहीमा ५ प्रतिशत खेतमा पनि रोपाइँ हुन सकेको छैन । आकाशे पानीको भरमा धान रोपाइँ गर्ने किसानहरु चिन्तित छन् । दाङ, बाँके, कपिलवस्तु र नवलपरासीमा समेत रोपाइँको अवस्था उस्तै छ। मुलुकको २२ प्रतिशत धान उत्पादन यही प्रदेशमा हुँदै आएको छ ।

प्रकाशित मिति : १५ असार २०७६ आइतबार ००:००  ६ : ५३ बजे