८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

म अब कांग्रेस पार्टीको अध्यक्ष छैनः राहुल गान्धी



एजेन्सी ।
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बुधबार आफू अब पार्टी अध्यक्ष नरहेको स्पष्ट पारेका छन्। उनले पार्टीले ढिलो नगरी नयाँ अध्यक्ष छान्नुपर्ने बताएका छन्। राहुल गान्धीले संसद बाहिर सञ्चार माध्यमसँग कुरा गर्दै भने, ‘कांग्रेस पार्टीले जतिसक्दो चाँडो अध्यक्ष छान्नु पर्छ। मैले आफ्नो राजीनामा पहिले नै दिइसकेको छु। म अब पार्टी अध्यक्ष छैन। कांग्रेस कार्यसमिति बैठक गरेर अध्यक्षका बारेमा निर्णय लिनुपर्छ।’
हाल केरलाको वायनाडबाट सांसदसमेत रहेका राहुल गान्धी सन् २०१७ मा कांग्रेसको अध्यक्ष बनेका थिए। लोकसभा निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिँदै उनले गत मे २५ मा कांग्रेसको कार्यसमितिको बैठकमा राजीनामा दिएका थिए। यद्यपी पार्टीले उनको राजिनामालाई स्वीकार गरेको थिएन। पार्टीका वरिष्ठ नेताहरु राहुलको राजीनामाको विपक्षमा थिए। उनीहरुले सोनिया गान्धीसँग राहुललाई मनाउन आग्रह गरेका थिए। तर राहुल आफ्नो राजीनामा दिने निर्णयमा अडिग रहेका छन्।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोटसहित कांग्रेसले सरकार चलाईरहेका पाँच राज्यका मुख्यमन्त्रीले सोमबार राहुल गान्धीसँग भेट गरेर अध्यक्ष पद नछोड्न आग्रह गरेका थिए। गहलोतका साथै पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्द्र सिंह, मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ, छत्तिसगढका मुख्यमन्त्री भूपेश बघेल र पुद्दुचेरीका मुख्यमन्त्री वी नारायणसामी उनलाई भेट्न पुगेका थिए।
राहुल गान्धीसँगको भेटपछि गहलोतले भने,‘हामीले राहुललाई कांग्रेस नेताहरुको भावनाको बारेमा जानकारी गरायौँ। उनले सहि निर्णय लिनेछन् भन्ने मलाई लागेको छ।’
यदि राहुल गान्धी आफ्नो निर्णायबाट पछि नहटे महाराष्ट्रका वरिष्ठ नेता सुशील कुमार शिंदे कांग्रेसको नयाँ अध्यक्ष बन्न सक्ने अनुमान छ।

प्रकाशित मिति : १८ असार २०७६ बुधबार ००:००  ६ : ३३ बजे