५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पर्यटनमन्त्री योगेश भट्टराईले लिए सपथ



काठमाडौं ।
ताप्लेजुङबाट निर्वा्चित नेकपा सांसद योगेश भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको शपथ लिएका छन् । भट्टराईलाई शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
मन्त्री योगेशको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतका संवैधानिक निकायका प्रमुख उपस्थित थिए । अनेरास्ववियूका अध्यक्षबाट मूलधारको राजनीतिमा प्रवेश गर्दै ताप्लेजुङ जिल्लाबाट सांसद पदमा निर्वाचित योगेश भट्टराई तत्कालिन एमालेको सचिव र प्रचार विभाग प्रमुख भएर काम गरिसकेका छन् ।
उनी लोकप्रिय युवा नेतामा पर्छन् । निर्वाचन प्रचारमा ताप्लेजुङ पुगेका हालका प्रधानमन्त्री तथा तत्कालिन एमाले अध्यक्ष ओलीले प्रचारसभालाई सम्बोधन गर्दै तपाईंहरु सांसद बनाएर पठाउनु होस हामी योगेशलाई मन्त्री बनाएर पठाउँछौं भनेका थिए ।
तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमै भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो मन्त्री पद खाली थियो भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए । सरकारले सन् २०२० लाई पर्यटन बर्ष मनाउने घोषणा गरेको र लामो समय मन्त्री बिहीन रहनाले धेरै काम हुन नसकेको अबस्थामा मन्त्री हुन लागेका योगेश भट्टराईका लागि यो पद अवसरसँगै ठूलै चुनौति पनि हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गते उपचारका लागि सिंगापुर जाने कार्यक्रम छ । प्रधानमन्त्रीले आफू उपचारका लागि विदेश जानुअघि नै मन्त्री नियुक्त गरेका हुन् । मन्त्री परिषदमा ठूलै हेरफेर हुने चर्चा गरिंदै आएको सन्दर्भ योगेशको यो नियुक्तिले तत्कालका लागि टुङ्गिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ५ : १० बजे