२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

भूकम्पबाट पूर्ण क्षति भएका ७० सरकारी भवनको पुनर्निर्माण सकियो



काठमाडौं ।
२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएका सरकारी र सार्वजनिक भवनहरुमध्ये ७० ओटाको पुनर्निर्माण सम्पन्न भएको छ । जसमा ३० ओटा सरकारी स्रोत र ४० ओटा भवन एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगका छन् ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भैरहेका बाँकी २१ ओटा भवन चालु आर्थिक वर्ष्भित्र र एडीबीको ऋण सहयोगमा पुनर्निर्माण भैरहेका बाँकी २९ ओटा भवनहरुको पुनर्निर्माण आउँदो पुससम्ममा सम्पन्न गरिनेछ ।
पुनर्निर्माण तथा प्रबलीकरण गर्न बाँकी रहेका संरचनाहरु बनाउनका लागि प्रक्रिया थालिएको छ । साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनहरुको टेण्डर आह्वान गरिएको छ ।
भारतीय ऋण (एक्जिम बैंकमार्फत्) सहयोगमा पुनर्निर्माण हुने ललितपुरको एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरिदको सूचना प्रकाशन भएको छ । त्यस्तै ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुंगा तथा सोलुखुम्बुका कारागारहरुको प्रक्रिया बढाउनका लागि गृहकार्य जारी छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भइ बनाउन बाँकी संरचनाहरु समयमा पुनर्निर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताउनुभयो ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनहरुको प्रबलीकरणतर्फ पनि कार्य अघि बढेका छन् । सार्क सचिवालयको प्रबलीकरण सम्पन्न भैसकेको छ ।
सिंहदरबारको पश्चिमबाहेक तीनवटै खण्डको प्रबलीकरण जारी छ भने पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ । त्यसैगरी बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानुन पुस्तकालय भवनहरुको प्रबलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ ।
राष्ट्रपति कार्यालय (शीतल निवास), यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेजको भवनहरु प्रबलीकरणको डिजाइन चरणमा छन् । नेपाल राष्ट्र बैंककै लगानीमा बन्ने बालुवाटार र थापाथली भवनहरुको निर्माण कार्य जारी छ ।
राजधानीमा आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य २५३ संरचनाहरुको मर्मत सम्पन्न भैसकेको छ । सरकारी भवनहरुतर्फ हालसम्म ८ अर्ब २८ करोड रुपैयाँ खर्च भैसकेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ७ : ५२ बजे