५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुद्धभूमिमा उठ्यो झण्डै साढे ६ करोड आन्तरिक राजश्व



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सोचे भन्दा बढी आन्तरिक राजश्व उठाउन सफल भएको छ । नगरपालिकाले लिएको लक्ष्य भन्दा २ सय २७ प्रतिशत बढी आन्तरिक राजश्व उठेको हो । गत बर्ष नगरपालिकाले २ करोड ७६ लाख २० हजार राजश्व उठाउने लक्ष्य लिए पनि ६ करोड २७ लाख ४१ हजार बराबर राजश्व उठ्न सफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले जानकारी दिनुभयो ।
विकास निर्माणको हिसाबले अग्र पंक्तीमा आउने बुद्धभूमि नगरपालिकाले विभिन्न शिर्षकमा राजश्व उठाउने गरेको छ । बार्षिक लक्ष्य भन्दा बढी भूमिकर मालपोत, बहाल विटौरी कर, घर बहाल कर, प्रशासनिक सेवा शुल्क, सम्पत्ती कर, सिफरिस दस्तुर लगायत शिर्षकबाट राजश्व उठेको हो । नदीजन्य पदार्थको ठेक्काबाट आउने रकम पनि आन्तरिक राजश्वमा राखिएको छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत राजन पोख्रेलका अनुसार सम्पत्ती करमा ३३ लाख ५३ हजार, भूमिकर मालपोतमा १ करोड ६५ लाख ५० हजार, प्रशासनिक सेवा शुल्कमा २ करोड ६८ लाख ८९ हजार, घर बहाल करमा ५ लाख ६९ हजार, बहाल विटौरी करमा २ करोड ५५ लाख ७२ हजार बराबरको राजश्व उठेको छ ।
यस्तै नक्सापास दस्तुरबाट ५६ लाख ३९ हजार, व्यक्तिगत घटना दस्तुर २ लाख ४२ हजार, प्रशासनिक दण्ड जरिवाना जफतबाट ९५ हजार, शिक्षा सेवा शुल्कबाट १ लाख २३ हजार, विज्ञापन करबाट ५७ लाख, सेवा शुल्क तथा विक्रिबाट १६ हजार लगायत विभिन्न शिर्षकबाट राजश्व उठेको छ । बार्षिक लक्ष्य भन्दा तेब्बरले आन्तरिक राजश्व उठे पछि नगरपालिकाले यस बर्ष ४ करोड १० लाख बराबरको राजश्व उठाउने लक्ष्य राखेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले आन्तरिक राजश्व बढ्नु सकारात्मक कुरा भएको बताउनुभयो । नगरबासीमा कर तिर्नु पर्छ भन्ने मान्यता रहेको पाइएको भन्दै करको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफुले तिरेको कर आफ्नै लागि भएकोले करको दायरामा आउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६ सोमबार ००:००  ४ : ०६ बजे